शुक्रबार, ०२ साउन २०८२

सबै भ्रष्टाचारको छानबिन गर्न माग गर्दै राप्रपाले बुझायाे अख्तियारलाई पत्र


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वकाे टाेली टंगालस्थित अख्तियारकाे कार्यलयमा पुगेर ज्ञापनपत्र बुझाएको हो। 

आयोगको वार्षिक प्रतिवेदनअनुसार मात्र पनि भ्रष्टाचारको उजुरी मुद्दाको संख्या र दावी रकम बढ्‌दै गएको अवस्थाले नेपालमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै पुष्टि हुने राप्रपाले दाबी गरेकाे छ।

‘सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा लाग्छ मन्त्रीहरू एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन्’, राप्रपाले अख्तियारमा बुझाएको पत्रमा भनिएको छ, ‘अझ प्रमुख आयुक्त स्वयंको भ्रष्टाचारको रकमको डिल विदेशमा नै हुने गरेको भन्ने भनाइले पनि नेपालमा हुने भ्रष्टाचारको तह र व्यापकता प्रष्ट हुन्छ।’

राप्रपाले ट्रान्सपरेन्सी इन्टरनेसनलको विभिन्न समयका प्रतिवेदनले नेपाल भ्रष्ट राष्ट्रहरूमा सूचीकृत हुनु सम्पूर्ण नेपालीहरूका लागि लज्जाको विषय भएकाे उल्लेख गरेकाे छ।

आयोगबाट भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका कामहरु प्रशस्त हुँदै गर्दा पनि ठुला भ्रष्टाचारका काण्डहरू जस्तै: सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेललगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानवीनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेकाे राप्रपाले बताएकाे छ।

‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठूला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन भन्ने कुरामा विश्वास गर्न सकिँदैन र भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानवीन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन सक्दैन भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ’, ज्ञापनपत्रमा उल्लेख छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ