बिहिबार, ०८ माघ २०८२

माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस


काठमाडौँ। सरकारले राष्ट्रियसभाको अधिवशेन आह्वानका लागि राष्ट्रिपतिसमक्ष सिफारिस गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय र गङ्गाघाट मन्दिरको पुनःनिर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रपरिषद्ले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर दुई लाख ८३ हजार ५०३ प्रदान गर्न स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्ले वित्तीय क्षेत्र रणनीति (२०८२/८३–२०८६/८७) र मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरेको छ।

बैठकले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी (भक्तपुर)लाई तोक्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ