बुधबार, ०९ पुस २०८२

दबाबमा रवि–बालेन


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता पुकार बमले कात्तिक १७ गते आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘कारागारभित्र भएकै एकमात्र कारण देखाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई मात्र एकताको बाधक देख्दै गर्दा भोलि नयाँ दलका अध्यक्ष कुलमान घिसिङमाथि नीतिगत, संस्थागत र आर्थिक भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग, संगठित अपराध, अपचलनलगायतका मुद्दा र कुलमानजी नेतृत्वको पार्टीका अन्य प्रमुख नेता भनिएका र समर्थन गरेका नेतृत्वकर्ता बालेन साह, सुमना श्रेष्ठ, सुदन गुरुङ, सागर ढकाल, सोम शर्मालगायत माथि देशद्रोह, आतंकवाद प्रोत्साहन, साम्प्रदायिक दङ्गा उत्प्रेरणा, आन्दोलनमा भीडलाई उक्साएको, विध्वंस मच्चाएको, आगजनी, सार्वजनिक सम्पत्ति तोडफोड, ज्यान मार्ने मुद्धा, हुलहुज्जत गरेकोलगायत मुद्दा दायर पश्चात् तपाईंहरूलाई के भन्ने?’

कुलमान घिसिङ र रवि लामिछानेकाबीच संवाद गराउने जिम्मेवारी पाएका तर, कुरो नमिलेपछि थाकेका बमले भनेका थिए, ‘मुद्दा, विचार र सिद्धान्त एक हुँदाहुँदै एक्लाएक्लै जाने हो भने अबको बाटो स्पष्ट छ– जेलभित्र। अनि त्यही कालकोठरी जेलभित्र– सानो धिपधिपे चिमको उज्यालोमा भजनकिर्तन कत्थक डिस्को डान्स, नाचगान दोहोरी र र्‍याप ब्याटलको तालमा एकताको वार्ता गर्ने दिन टाढा छैन।’

तिनै नेता बमले मंसिर ८ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘०७९ देखि रवि-बालेन सँगै छौं भन्दा उडाइयो। ट्रोल गरियो, गिज्जाइयो तर, सँगै हुनुपर्छ भन्ने आशा र अभियान छोडिएन र आज त्यो सारा नेपालीको सपना पूरा भयो।’

उनले रवि लामिछाने र बालेन शाह एउटै गाडीमा हिँडिएको भिडियो पनि शेयर गरेका छन्।

आगामी वैशाखसम्म चुनाव हुने पक्कापक्की भएपछि पुरानादेखि नयाँ पार्टीसम्मले चुनावका लागि तयारी सुरु गरेका छन्। रवि र बालेन भेटघाट गर्नु केही घन्टा अगाडि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको थियो। एमाले महासचिव शंकर पोखरेलसहित देउवा निवास पुगेका नेताहरुले भेटघाटमा भएको कुराकानी सबै सार्वजनिक गरेका छैनन्। तर, उनीहरुको भेटघाट राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनकै सन्दर्भमा गरिएको आंकलन धेरैले गरेका छन्।

दबाबमा दल

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले कांग्रेस–एमालेको तत्कालीन सत्ता ढालेपछि नेपालमा फेरि संक्रमणकालीन राजनीति सुरु भएको छ। आन्दोलनको नाममा भएको विध्वंसको असर पुरानादेखि नयाँ दलमा समेत परेको स्पष्ट देखिन्छ।

जेनजी आन्दोलनकै बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार आफैं पनि अप्ठ्यारोमा छ। दलका प्रतिनिधिहरु भेटघाट कार्यक्रममा प्रधानमन्त्री कार्कीको अभिव्यक्तिबाटै स्पष्ट हुन्छ, सरकार आफैं पनि सकसमा छ। उनले भनेकी छन्, ‘आज हामी आलोचनाका पात्र जेनजीबाट पनि भएका छौं भने राजनीतिक दलबाट पनि भएका छौं। हामी अचानो भएका छौं।’

उनको भनाइमा सहमत हुने आधार धेरै छ। जेनजीको बलमा स्थापित भए पनि जेनजीकै एउटा समूह सरकारको राजीनामा माग्दै सडकमा प्रदर्शन गरिरहेकाे छ भने नेपाली कांग्रेस र एमालेले असंवैधानिक सरकार भन्दै सरकारको विरुद्ध आन्दोलन गर्ने अभिव्यक्ति दिन थालेका छन्।

गठबन्धनको विकल्प

नेपाली राजनीतिमा पहिलो पुराना र नयाँ पार्टीबीच चर्को चुनावी प्रतिस्पर्धा हुने भएको छ। चुनाव भएमा आफैं ठूला पार्टी हुने दाबी गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वले महसुस गरिसकेको छ, ‘यो चुनाव सोचे जस्तो सहज छैन।’ सञ्चो बिसञ्चो सोध्ने बहानामा ओली-देउवा भेटघाटको मुल कारण त्यही नै हो।

पुराना पार्टीहरुबीच निश्चित ठाउँमा चुनावी साँठगाँठ हुने संकेत पाएपछि नयाँ पार्टीहरुले पनि गठबन्धनका विषयमा छलफल सुरु गरेका छन्। सोमबार बालेन–रवि भेटघाट त्यही छलफलको प्रारम्भ हो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ