- असार ०७, २०८०
काठमाडौं। गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो। रौतहटको राजपुर फरहदवामा रहेको राजा इँटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार।
नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इँटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घरमा भएका थिए। उनले बताएअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो। त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए। बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो।
उक्त इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप आलममाथि छ। उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ।
उच्च अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेका उल्लेख छ। तर, सो घटनामा परी बालबाल बाँचेका गौरीशंकर भने बम पड्किएको बताउँछन्। प्रस्तुत छ उनले सो घटनामा आधारित भएर दिएको अभिव्यक्तिको सम्पादित अंशः
म रौतहटको राजा इँटाभट्टामा काम गर्दैथिए। पैसा लिन मलाई बोलाएर लिएर गए। हामी तीन जना थियौं। मलाई भने– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाउ। घरको ढोकाको छेउमा पुगेको बम पड्कियो। आगो लागेपछि म भागेँ। घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ। फेरि म भागेँ। त्यसपछि मलाई थाहा भएन कि म कहाँ छु ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा। आँखा खुलेपछि मैले आमालाई सोधे– कहाँ हो यो ? आमाले भन्नुभयो– यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु। केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई।
त्यसपछि मेरो आँखा फेरि बन्द भयो। मेरो इलाज (उपचार) तीन महिनाजति भयो। मलाई साढे ३ लाख आईसी .(भारतीय रुपैयाँ) खर्च भयो। अफ्ताबले एकचोटी पनि सोधेनन्– मान्छे कस्तो छ, के छ ? एक रुपैया पनि दिएनन्। सोधेको पनि छैन। आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन। कडाभन्दा कडा सजाय दिनुपर्यो।
निर्वाचनको एक दिन पहिला बेलुकातिर बम विस्पोट भएको थियो। अफताब आलमको काकाको घरमा। मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन। दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ। कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन।
त्यहाँ बम विष्फोट भएको छ, मलाई बम लागेको छ। अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु। मलाई त्यसैमा बम लागेको छ। अरु मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन। इलेक्सनको एक दिन पहिला भएको हो, अफ्ताब आलमले नै बम विष्फोट गराएको त मैले भन्न सक्दिनँ। तर, उसैको घरमा भएको हो।
सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो। म घरमा नहुँदाखेरी आफताबका (मान्छे) आएर मेरो आमालाई भने– तिम्रो छोरा त गयो (मर्यो) अब। तिम्रो छोरा दुई/चार साल वितेपछि बाँच्दैन।
अफ्ताब आलाम आलम छुटेकोमा मलाई दुःख लागेको छ। त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ। अब मलाई मार्छ, जस्तै लाग्न थालेको छ। अब मलाई डर भयो। मेरो शारीरिक अवस्था नाजुक छ। काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ। म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ। (रुदैँ) कसरी बाँचौं म यो दुनियाँमा।
टिप्पणीहरू: