शुक्रबार, ०५ मंसिर २०८२

जेनजी युवाकाे प्रश्न : हत्यारा र भ्रष्टाचारीलाई कहिले कारबाही हुन्छ ?


काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले जेनजी युवालाई जिस्क्याउने काम नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । जेनजी युवाका हत्यारा तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउन गरी कारबाही गर्न असफल प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन माग समेत उनले गरेका छन् । 

कमन जेनजीले काठमाडौको घटेकुलो, अनामनगरमा आज पत्रकार सम्मेलन गर्दै विभिन्न समूहमा विभाजित जेनजी समूहहरुलाई गोलबद्ध र एकीकृत हुन  आग्रह गरेका छन् । 

‘अब टुटेर होइन, जुटेर अगाडी बढनुपर्ने हुन्छ । हामीलाई बदनाम गर्न खोजिएको छ । हाम्रा साथीहरुलाई पक्राउ गर्ने र आक्रमण गर्ने काम भइरहेको छ । तर जेनजी आन्दोलनकै बलमा प्रधानमन्त्री भएकी सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल दर्शक जस्तै हुनु दुखद छ । जेनजीका हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसक्ने सरकार हामीलाई चाहिएको छैन् । राजीनामा दिनुपर्छ, यस्ता लुते सरकारको के काम ?, अध्यक्ष साहले भने । 

जेनजीको माग सम्बोधन गर्न नसक्ने प्रधानमन्त्री कार्कीले तुरुन्त राजीनामा दिनुपर्ने उनले बताए । जेनजीका हत्या र खरबौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनुपर्ने साहले माग गरेका छन् । 

उनले दुई महिना बढी भइसक्दा पनि जेनजीलाई दमन गर्ने केपी ओलीलाई पक्राउ नगर्दा उनीहरु पुनः बिद्रोहको आगो झोस्न उद्धत रहेको आरोप लगाए । केपी ओलीसहितका एमाले नतृत्वहरुले उत्तेजित बनाई अवस्थालाई विथोल्न  खोजेको आरोप लगाउँदै साहले भने, ‘हत्यारा केपी ओलीको निर्देशनमा निर्दोश जेनजीहरुमाथिको दमनविरुद्ध संयुक्तरुपमा सम्पूर्ण जेनजी समूहहरु एकजुटभई प्रतिकारमा उत्रने हामी कमन जेन्जी प्रतिबद्ध छौं ।’ 

नेशनल फष्टका संयोजक एसीपी साहले हत्या र विध्वांसको मुख्य जिम्मेवार पूर्व–प्रधानमन्त्री ओली, रमेश लेखकहरुलाई कानुनी कठघरामा नउभ्याउँदा उनीहरु थप आक्रामक भएको बताए । अहिले जेनजीलाई नै जिस्क्याउने काम उनीहरुले गरिरहेका उनले बताए । 

जेनजी नेपालका संयोजक कृष्णमोहन सहनीले बारामा जस्तै देशभरबाट एमाले नेता कार्यकर्तालाई लखेट्ने चेतावनी दिए । जेनजी युवाहरुलाई जिस्क्याउने काम नरोकिए जसरी बाराबाट एमालेलाई लखेटने काम भएको त्यसरी नै देशैभरीबाट लखेटने काम गरिने उनले बताए । 

नेपाल फष्टका सचिवालय सदस्य सुनिल सिंहले हत्यारा र भ्रष्टहरुलाई कानुनी कठघरामा ल्याउनुको सट्टा अभियान्ता डा.निकोलस भूसाललाई पक्रनुले आफूहरुलाई अक्रोशित बनाएको बताए ।

कमन जेनजीका महासचिव प्रदिप साहले आफूहरुका माग तत्काल पूरा गर्न सरकारसँग माग गरे । यो सरकार लुते जस्तै भएको बताउदै उनले जेनजीको माग पुरा नर्ग नसक्ने लुते सरकारले राजीनामा दिनुपर्ने बताए । 

कमन जेनजी का उपाध्यक्ष उज्वल शर्माले बारामा भएको घटना केपी ओली र एमालेको दम्भको कारण भएको र यसरी नै अघि बढे एमालेको पत्तासाप गरिदिने चेतावनी दिए । जेनजी इसान दुलालले जेनजी टुटफूटमा रमाउने भन्दा एकजुटभएर अगाडि बढनुपर्नेमा जोड दिए ।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ