आइतबार, १४ भदौ २०८३

नागरिककाे जीवनरक्षा सरकारकाे पहिलाे प्राथमिकता : प्रधानमन्त्री


फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नागरिककाे जीवन रक्षा सरकारकाे पहिलाे प्राथमिकता भएकाे बताएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले साे कुरा बताएका हुन् ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा सरकारले उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र बनाएको उल्लेख छ।

सरकारका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जनाको समेत उद्धार भइसकेको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टरले २३६ उडान भरिसकेका छन्।

उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ। उद्धारका क्रममा भारतीय र चिनियाँ विज्ञसमेत नेपाली सेनासँग समन्वय गरी परिचालित छन्।

बाढीबाट घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पताल तथा रसुवाको धुन्चे र नुवाकोटको बट्टारमा स्थापना गरिएका मोबाइल अस्पतालमार्फत उपचार भइरहेको छ। प्रभावित नागरिकका लागि रसुवामा तीन र नुवाकोटमा १५ अस्थायी शिविर सञ्चालनमा ल्याइएको छ भने करिब ३ हजार ५०० विस्थापितलाई अस्थायी आवासको व्यवस्था गरिएको छ।

सरकारका अनुसार बाढीबाट रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा तथा नवलपरासीका विभिन्न स्थानमा हालसम्म ६७५ शव फेला परेका छन्। पहिचान भएका शव परिवारलाई बुझाउने र पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्ने काम भइरहेको छ।

बाढीबाट क्षतिग्रस्त सडक र सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ। वैकल्पिक सडकमार्फत रसुवालाई पुनः राष्ट्रिय सडक सञ्जालमा जोडिएको तथा नेपाल टेलिकम र एनसेलका अधिकांश अवरुद्ध टावर पुनः सञ्चालनमा ल्याइएको छ।

विपद् व्यवस्थापनका लागि स्वदेश तथा विदेशबाट आर्थिक तथा मानवीय सहयोग प्राप्त भइरहेको सरकारले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा हालसम्म ५ अर्ब ४ करोड ४६ लाख रुपैयाँभन्दा बढी जम्मा भएको विवरण सार्वजनिक गरिएको छ। सरकारले राहतका नाममा हुने सम्भावित ठगीबाट बच्न आधिकारिक कोष र खातामार्फत मात्र सहयोग गर्न आग्रह गरेको छ।

सरकारले खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावित नागरिकको जीवनरक्षा र अवस्था सामान्य नहुँदासम्म निरन्तरता दिने जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ