- भदौ ०२, २०८१
काठमाडाैँ। सुशासनका लागि भन्दै आन्दोलन गरेको जेनजी पुस्ता आफ्नै सहकर्मीका कारण बद्नाम हुने खतरा बढेको छ। जेनजी आन्दोलन भएको एक महिना बढी हुँदै गर्दा जेनजीकै नाममा जे-जस्ता गतिविधि भएको छ, यसले ‘जुन जोगी आया कानै चिर्या’ भन्ने उखानलाई चरितार्थ गरेकाे छ।
जेनजीका नाममा युवाहरुको एक समूहले भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर सित्तैमा पाउने सम्झौता भएको केही घन्टामै काठमाडौँका केही सरकारी कार्यालयमा ‘आतंक’ सुरु भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल नागरिक उड्ययन प्राधिकरणलगायतका निकायमा जेनजीका नाममा जे जस्ता हर्कत भएको छ, त्यो कुनै पनि कोणबाट उपयुक्त देखिँदैन।
जेनजीका नाममा सरकारी कार्यालय पुगेर ‘सक्नुहुन्न भने तपाईं राजनीनामा दिनुस्’ भनेर ठाडै धम्की दिने व्यक्ति स्वयं चेक बाउन्स, वैदेशिक ठगीजस्ता घटनामा संलग्न हुनुले जेनजीका नाममा ठगी गर्नेहरु सक्रिय भएको संकेत देखिएको छ।
अपराधमा संलग्न व्यक्तिहरु नै चर्को स्वरमा सुशासनका कुरा गर्दै हिँड्छन् भने समाज बुझ्नका लागि धेरै दिमाग खियाउन जरुरी छैन। सबैभन्दा धेरै लथालिंग र बेथिति त्यहीँ देखिन्छ।
आन्दोलनपछि गठन भएको सरकारले भर्खर महिना दिन पार गरेकाले सरकारको आलोचना गरिहाल्नु हतारो हुनसक्छ। तर, सुशासनका लागि गठन भएको सरकारका गृहमन्त्रीका कतिपय शैली हेर्दा भने मुलुकमा अराजकता मौलाउने प्रष्ट देखिन्छ। गत भदौ २४ मा भएको सार्वजनिक सम्पत्ति तोडफोडका घटनामा संलग्नलाई कानुन बमाेजिम कारबाही हुनबाट रोक्नका लागि गृहमन्त्री ओमप्रकाश अर्यालले जुन भूमिका निर्वाह गरेका छन्, यसले प्रष्ट संकेत गरेको छ कि जेनजी आन्दोलनलाई बद्नाम गराउन सरकारको पनि भूमिका छ।
हो, नेपालको प्रशासनिक संयन्त्र जनमैत्री छैन, अधिकांश सरकारी कर्मचारीमा म आफैँ शासक हुँ भन्ने भ्रम छ। ती सबै समस्या समाधानका लागि एउटा विधि बनाउन जरुरी छ। ठगीका घटनामा संलग्नहरुको टोली गएर धम्की दिएकै भरमा समस्या समाधान हुन्न।
भदौ २३ र २४ मा भएको आन्दोलन ठट्टा होइन भन्नेमा रियल जेनजी, सरकारका प्रतिनिधि र राजनीतिक दलका कार्यकर्ता पनि गम्भीर हुन जरुरी छ।
सिंगो समाज विविध चरित्र बोकेको मान्छेहरुबाट बनेको हुन्छ। राजनीतिक दल, सामाजिक संस्था वा अन्य कुनै पनि समूहमा सबै किसिमका चरित्रहरुको समिश्रण हुन्छ नै। यस अर्थमा जेनजी समूहमा शतप्रतिशत सहि मान्छे मात्रै छन् भनेर अपेक्षा गर्न सकिँदैन।
जेनजीको खास मुद्दा के हो र जेनजीले चाहेजस्तो समाज निर्माणका लागि गर्नुपर्ने के हो? रियल जेनजीहरुबीच पनि मन्थन हुन जरुरी छ। आशा गरौँ, जेनजी आन्दोलनका नाममा भएका अवाञ्छित गतिविधि नियन्त्रणका लागि स्वयं रियल जेनजी सक्रिय हुनेछन् र जेनजी आन्दोलनलाई बद्नाम हुनबाट जोगाउनेछन्।
टिप्पणीहरू: