बुधबार, ०७ असोज २०८३

अति भारी वर्षाको सम्भावना रहेकाले सुरक्षित रहन प्रधानमन्त्रीकाे अनुराेध


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् ।

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा हाल अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सो अनुरोध आग्रह गरेका हुन् ।

माैसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको भन्दै प्रधानमन्त्री बालेनले सचेत रहन सुझाएका हुन् ।

‘सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ ।’ उनले लेखेका छन् ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको जानकारी दिँदै कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

‘मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ,’ उनले लेखेका छन् ।

साथै पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोला नजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् ।

ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न पनि उनले भनेका छन् ।

मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत प्रधानमन्त्री बालेनले अनुरोध गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ