शनिबार, १० साउन २०८२

‘प्रधानमन्त्री ओली झुठ र भ्रमको खेतीमा लाग्नुभयाे, सभामुखले रुलिङ गर्नुपर्छ’


काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक श्रीरामको जन्म नेपालमै भएको भन्दै झुठको खेती गरी जनतामा भ्रम फैलाइरहेको बताएका छन्।

प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले नेपालका आदीवासी जनजातिको इतिहास मेटाउने गरी झुठ र भ्रमको खेती गरिरहेको बताए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामजी नेपालमै जन्मेको कुरा पटक पटक भन्दै हुनुहुन्छ। उहाँ (ओली)ले भन्नुहुन्छ राम चितवनमा जन्मेका हुन्। चतरा विश्वामित्रको आश्रमस्थल हो। म सोध्न चाहन्छु, नेपालको भूभागको असली वारिस आदीबासी जनजाति हो कि क्षेत्री बाहुन हो?,’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘रामायण भनेको क्षेत्रीबाहुनको पौराणिक कथा हो। यदि क्षेत्री बाहुन यस भूभागका वारिस हो भने यहाँको थारुहरु के हुन भन्ने प्रश्न गर्न चाहन्छु। के चितवनका आदीबासी थारु होइनन्? के चतराका आदीबासी किराँती होइनन्?’

यदि किराँती, थारुहरु नै आदीबासी जनजाति हुन् भने प्रधानमन्त्री ओलीले यहाँ बाहुन क्षेत्रीलाई घुसाएर के प्रमाणित गर्न खोजेका हुन् भन्ने संसद्लाई जानकारी गराउन उनले माग गरे।

राजनीतिक स्टण्डका लागि जे पनि गर्ने, प्रधानमन्त्रीले नै झुठको खेती गर्न मिल्छ कि मिल्दै भन्दै उनले प्रश्न गरे। प्रधानमन्त्रीले देशको नेतृत्व गर्ने, देशलाई सही दिशा निर्देशन गर्नुको साटो जनतामा भ्रम फैलाउने, विभाजन गर्ने र झुठको खेती गर्ने काम बन्द गर्नुपर्ने उनले बताए।

‘सबैलाई थाहा छ, सत्यको बाटो हिँड्यो भने समाजले सही दिशा लिन्छ। झुठले समाजलाई अन्धाकारमा धकेल्छ, द्वन्द्वमा धकेल्छ र बिनाश तिर लान्छ। क्यान्सरको रोगलाई तपाईंले टिवी लेख्दिनुहुन्छ भने त्यो बिरामीले कहिल्यै पनि उपचार प्राप्त गर्न सक्दैन,’ आजपा अध्यक्ष साहले भने, ‘हाम्रो समाजको वास्तविकता देखाउनुपर्ने हो। नेपाल कहिल्यै पनि गुलाम भएन। त्यो सबैको एउटै कारण हो यहाँको जनजाति आदीबासी। यहाँको मुलबासिन्दाकै कारणले हो, जसको कारण हामी कहिल्यै पनि गुलाम भएनौँ।’

नेपालको एकीकरणभन्दा पहिला पनि स–साना राज्यहरु भए पनि कहिल्यै पनि कसैको गुलाम नभएको बताउँदै उनले जनजाति, आदीबासीले त्यसको अस्तित जोगाएको बताए। प्रधानमन्त्रीले ती इतिहासको खोतलेर स्थापित गर्नुको साटो गुमराह बनाइदिने, तोडमतोड गर्ने कार्य गर्नु ठिक नभएको साहले बताए।

‘आदीबासी जनजातिको राज्य खोसियो, अधिकार खोसियो, पहिचान अस्वीकार गरियो र आज उनीहरुको इतिहासमाथि छेडछाड गर्ने काम भईरहेको छ। इतिहास मेटाउने काम भइरहेको छ। नेपाललाई कता लान खोजिएको छ भन्ने प्रश्न उठछ। प्रधानमन्त्री जस्तो व्यक्तिले किराँतीको इतिहास खोतल्नुपर्थ्याे। किराँतीहरु कस्ता राजा थिए कि कसैको गुलाम भएनन्। त्यस्ता कुरा उजागर गर्नुको साटो राजीतिक स्टण्ड गर्ने, भ्रमको खेती गर्ने, गुमराह बनाउँने काम बन्द गर्न म विशेष आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने। 

प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेको कुरा मिडियाबाट थाहा भएको बताउँदै उनले भारत जाँदा भारतीय सरकारसंग यस बारेमा सत्य, तथ्य कुरा गर्न र पुरातात्विक विभागको प्रमाणको आधारमा वार्ता गर्न आग्रह गरे। र आफैँले बोल्दै आएको कुरा स्थापित गर्न प्रधानमन्त्री ओलीलाई आजपा अध्यक्ष साहले चुनौतीसमेत दिए।

‘नेपालको राष्ट्रिय विभुति सीता, दुनियाले स्वीकारेको यो कुरा त प्रधानमन्त्रीले स्वीकार गर्नुहुन्न। म उहाँको क्याबिनेटको एउटा मन्त्री थिएँ। सीता जयन्ती क्यालेन्डरमा राख्न भन्दै गर्दा, अडान लिँदै गर्दा उहाँ मान्नुभएन। घण्टौँ अडान लिँदासमेत क्यालेन्डरमा सीता जयन्ती राख्न नमान्ने प्रधानमन्त्रीले राम नेपालमै जन्मेको विवादस्पद अभिव्यक्ति दिएर के सन्देश दिन खोज्नुभएको हो? नेपाललाई गुमराह बनाउने अधिकार कसैलाई छैन। प्रधानमन्त्री जस्तो गरिमामा बसेर आमलाई इमिलि भन्ने र झुठको खेती गर्ने काम बन्द गर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने।

नेपाललाई अन्धकारमा धकेल्ने अधिकार कोहीकसैसँग नभएको भन्दै उनले सत्यतथ्यको आधारमा अभिव्यक्ति दिनुपर्ने बताए। उनले सत्य, तथ्य नै बोलेको हो भने त्यसबारेमा संसद्मा बहस गराउनुपर्ने बताए। तर झुठको खेती गर्ने, भ्रम फैलाउने काम नगर्न प्रधानमन्त्री ओलीलाई उनले ध्यानाकर्षण गराए। यसबारेमा सभामुखले समेत रुलिङ गर्नुपर्ने माग गरे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ