सोमबार, २७ असोज २०८२

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्न प्रभु साहको प्रस्ताव


काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आम जनताद्धारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको लागि व्यवस्था सुधारको प्रस्ताव सारेका छन् । 

आजपाको काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष साहले प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था संविधानमा गर्नुपर्नें प्रस्ताव बैठकले सर्वसम्मतले पारित गरेको छ । 

संविधानमा तत्काल गर्नुपर्ने सुधार भन्दै आजपा अध्यक्ष साहले १६ बुँदे प्रस्ताव बैठकमा पेश गरेका थिए । जसलाई बैठकले सर्वसम्मतले पारित गर्दै ति बिषय तत्काल संशोधनका लागि संघर्षमा उत्रिने निष्कर्ष समेत निकालेको छ । 

‘प्रधानमन्त्री र मुख्यमन्त्रीको छनौट प्रत्यक्ष निर्वाचनद्धारा गर्नुपर्ने, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको छनौट पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनुसार हुनुपर्ने, पालिकाको संख्या घटाउने र बजेट बढाउने प्रस्ताव बैठकले सर्वसम्मतीले पारित गरेको छ,’ आजपा अध्यक्ष साहले भने । 

यस्तै, आजपाले स्थानीय तहमा कानून बनाउने र कर लगाउने अधिकार संविधानबाट हटाउनुपर्ने र स्थानीय तहको निर्वाचन निर्दलीय गर्नुपर्ने एजेण्डा अगाडी सारेको छ । दलीय सिण्डिकेटको विरोध गर्दै आएको आजपाले पार्टीलाई निर्वाचित संस्थाभन्दा माथि राख्ने प्रावधान खारेज गर्नुपर्ने माग समेत गरेको छ । 

संविधानमा रहेको विदेशीलाई नागरिकत्ता दिने प्रावधान अर्थात गैर आवासिय नागरिकत्ता खारेज गर्नुपर्ने, प्रदेशलाई पहिचान एवं अधिकार सम्पन्न बनाउनुपर्ने, शासकको समानुपातिक अधिकार खारेज गर्नुपर्ने, अनावश्यक संवैधानिक आयोगहरु खारेज गर्नुपर्ने, केन्द्रमा रहेका अनावश्यक संरचना खारेज गर्नुपर्ने माग आजपाले गरेको छ । 

नेपालका सम्पूर्ण भाषा र संस्कृतिलाई समान हैसियत कायम गर्नुपर्ने, भ्रष्टाचारीमाथि जनताको निगरानीको प्रावधान राख्ने, राईट टु रिकलको प्रावधान राख्नुपर्ने र न्यायालयलाई स्वतन्त्र, पारदर्शी एवं जनउत्तरदायी बनाउने काम गर्नुपर्ने माग आजपाले अगाडी सारेको छ । 

सरकारपिच्छेको कर आतंक र मनोमानी करको विरोध गर्दै आएको आजपाले जीडीपीको २० प्रतिशत भन्दा बढी कर लगाउन नपाउने व्यवस्था गर्नुपर्ने र देशको पूँजी विदेशमा लैजान रोक लगाउने व्यवस्था गर्नुपर्ने माग गरेको छ । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ