- असार ०६, २०८०
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले एमालेको कारण मधेश अशान्त भएको भन्दै तमाशा बन्द गर्न चेतावनी दिएका छन् । एमालेले देशलाई सुनियोजित तवरले अस्थिरता र असुरक्षित बनाउने प्रयत्न गरेको भन्दै जनस्तरबाटै प्रतिकार गरिनुपर्ने साहको भनाई छ । मुख्यमन्त्रीको असंवैधानिक तवरले भएको नियुक्तीमा एमालेले आफ्नो कोटामा नियुक्त भएकी प्रदेश प्रमुखलाई दुरूपयोग गरी डान्सबारमा शपथ खुवाउने काम गराएर सिंगो मधेशको नै बदनाम गराएको उनको आरोप छ ।
बाराको जितपुरसिमरा स्थित इच्छा होटेलमा आज (आईतबार) पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेकै कारण देश एकपछि अर्को अप्ठ्यारोमा परेको भन्दै अब जनस्तरबाटै प्रतिकार गरिनुपर्ने बताए । गलत संविधान र व्यवस्थाको कारण नै आज देशको अवस्था नाजकु बनेको र एकपछि अर्को गरेर देश संकटको भूमरीमा परेको उनको दाबी छ ।
उनले भने, ‘मैले यो संविधानले देशलाई निकास दिँदैन भनेको छु, मधेश प्रदेशमा देखिहाल्नुभयो, यही संविधानको कारण आज तमाशा भइरहेको छ । यो संविधान नफालेसम्म यस्तो तमाशा दोहोरिरहन्छ ।’ साहले देशलाई निकास दिनको लागि अहिलेको संविधान खारेज नगरी नहुने मत राखे । अन्तरिम संविधान र नयाँ सरकारबाट नै मुलुकको अहिलेको समस्याको हल हुने उनको दाबी छ ।
जेन–जी आन्दोलनमा बर्बरता अपनाउने र दमन गर्नेहरुलाई अहिलेसम्म बयानसमेत नलिएकोमा सरकारसमक्ष साहले प्रश्न उठाए । भदौ २३ गते कलिला युवाहरुलाई छाति र टाउकोमा ताकि ताकि गोली हानेर हत्या गर्नेहरुले अहिलेपनि ठूलो कुरा गर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई सरकारले अनुसन्धानको दायरामा ल्याउन नसक्नु नालायकीपन भएको साहको आरोप छ ।
उनले भने,‘यो जेनजीहरुको बलिदानीको जगमा बनेको सरकार हो, अहिलेसम्म यसले युवाहरुको हत्यारालाई कारबाही गर्न सकेको छैन । दुई महिना व्यतित भइसक्यो, तर सरकार चुनावको मात्रै रटान लगाउँछ, उल्टै आन्दोलनकारीलाई धरपकड गरिराखेको छ, दिनदाहाडै कलिला युवा विद्यार्थीहरुलाई ताकि ताकि गोली हानेर हत्या गर्नेहरुलाई बयानसमेत लिन सकेको छैन, यस्तो हुतिहारा सरकार, लुते मन्त्रीहरुले देशमा के को चुनाव गराउन सक्छन् ?’ उनले सरकारमा सहभागी मन्त्रीहरुले जेनजी आन्दोलनको बलिदानीमाथि गम्भीर धोका दिएको र उनीहरु आफ्नो व्यक्तिगत दुनो सोझ्याउने काममा तल्लिन रहेको र विदेश शयरमा व्यस्त रहेको भन्दै अब जनताले मन्त्रीहरुलाई नै जनकारबाही गर्ने दिन आउनेसम्मको चेतावनी दिए ।
टिप्पणीहरू: