- असार ०६, २०८०
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र नेकपा (एमाले) दुबै डुबाएको टिप्पणी गरेका छन् । सार्वजनिक रुपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुको साटो ओलीमा त्यो हठ, घमण्ड र अहंकार अझै कायमै रहेको उनले बताए ।
सर्लाहीको लालबन्दीमा आज (शनिबार) आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दशैं, दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डुमा गुण्डाहरु भेला गर्नुको साटो ओलीले सार्वजनिक रुपमै माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव दिए ।
‘केपी ओलीको हठ, घमण्ड र अहंकारले अहिले मुलुक र एमालेलाई ठुलो क्षति हुन गयो । एमालेमात्रै होइन, मुलुक नै डुबाउने काम ओलीले गर्नुभयो । ओलीकै हठ, घमण्ड र अहंकारले मुलुक जलेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘युवाहरुको भावना बुझ्नुको साटो उनीहरुलाई प्रहार गर्नुको दशा भोग्नुभयो । यसपटक त सेनाले बचाइदियो, यस्तै हट, घमण्ड र अहंकार रहिरहयो भने दुर्दशा भोग्नु नपर्ला भन्न सकिदै । त्यसैले मेरो सुझाव छ गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रुपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस, त्यसमै एमालेको भलो छ ।’
उनले एमालेले ओलीलाई अगाडि नलगाओस र नेपाली कांग्रेसले शेरबहादुर देउवा देखाएर दाईं नगरोस भन्दै बलपूर्वक हटाईएका यी बुढा नेताहरुलाई अब राजनीतिबाट स्थायी रुपमा बिदाई गर्नुको विकल्प नभएको बताए ।
देउवा दम्पत्तिलाई यो देशको माया नभएको बताउदै आजपा अध्यक्ष साहले नत्र बाँच्नको लागि संघर्ष गरेको अवस्थामा किन नयाँ पासपोर्ट बनाईयो ? भागेर सुख पाईन्छ ? भन्दै प्रश्न समेत गरेका छन् । यस्तै, नेताहरुको घरबाट पैसा भेटिएको र नोट जलेको कुरामा यो सरकारले तथ्यगत कुरा बाहिर ल्याओस भन्ने माग समेत उनले गरे । यसैगरी अहिलेको सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव उनले दिए ।
‘लोकप्रियतावादको हावा नेपालमा पनि चल्यो । अर्को जेलेन्स्की जन्माएर देशको अस्तित्व समाप्त पार्ने षड्यन्त्र हुनसक्छ, देशभक्त हामी नेपाली चनाखो हुन जरुरी छ,’ आजपा अध्धक्ष साहले भने, ‘कागजी बाघहरु लुकेर अँध्यारो कोठाबाट षड्यन्त्रको तानाबाना बुनिरहेका छन्, हिरोइज्म देखाईरहेका छन् । हामी सचेत हुनुपर्छ ।’
मुलुकलाई झनै ठूलो संकटको भूमरीमा फसाईयो बताउदै उनले अहिलेकै संविधान कायमै राखेर समस्याको समाधान नहुने ठोकुवा समेत गरे । अन्तरिम सरकारका साथै अन्तरिम संविधानबाटै मुलुकले निकास पाउने उनले बताए ।
देश लुटेर सन्तान र सम्पत्ति विदेश पुर्याउने नेताहरुलाई अब छानीछानी आक्रमण गर्नुपर्ने आवश्यक्ता देखिएको उनले बताए ।
टिप्पणीहरू: