- असार ०६, २०८०
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारमा ठगिएका युवाले आफ्नो पैसा कहिले फिर्ता पाउने भन्दै सरकारसँग जवाफ मागेका छन् ।
आजपा केन्द्रीय कार्यालय काठमाडौं, कोटेश्वरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वैदेशिक रोजगारका ठग र लुटेराहरु सरकारकै मिलेमतोमा लुटआतंक मचाएको बताए ।
प्रधानमन्त्री केपी ओलीसंग प्रश्न गर्दै उनले भने, ‘तपाईंहरुले सुशासन खोजेको हो भने कारवाही किन नगरेको ? म्यानपावरले प्रतिव्यक्ति १० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउने कानूनी व्यवस्था छ । तर लाखौं असुली भईरहेको छ । के यो कुरा दुई तिहाई बहुमतको शक्तिशाली सरकारलाई थाहा छैन ?’
अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार भएको बताउदै उनले भने, ‘अहिले दुई तिहाई बहुमतको शक्तिशाली सरकार छ । म प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई सोध्न चाहन्छु, वैदेशिक रोजगारमा ठगिएका युवाहरुले कहिले पैसा फिर्ता पाउँछन् ?’
जनताको समस्या, चाहना, आवश्यक्ता पुरा गर्न असफल भएको सरकार कसरी हुन्छ लुटधन्दामा लागेको टिप्पणी उनले गरे ।
‘वैदेशिक रोजगारमा भइरहेको कानून विपरितको लाखौं असुली दुई तिहाइको सरकारलाई थाहा छ कि छैन् ? यो कुरा थाहा नहुने कुरै हुदैन् । सबै मिलेर लुटेका छन् । म्यानपावरदेखी दलालहरुले सरकारकै संरक्षणमा लुटने र बाँडेर खाने धन्दा चलेको छ,’ आजपा अध्यक्ष साहले भने ।
दुई तिहाई बहुमतको शक्तिशाली सरकारले देशमै युवालाई रोजगार दिन असफल भएको छ । स्वदेशमा रोजगार नपाएर युवाहरु ऋण निकालेर भए पनि रोजगारका लागि विदेश जान बाध्य भएको बताए ।
‘स्वदेशमा रोजगार नपाएर ऋण लिएर रोजगारका लागि विदेश जाने युवाहरुसंग मनोमानी असुली भइरहेको छ । असुली भएको पैसा नेताजीहरुको घर–घरमा पुगिरहेको छ त्यही भएर सरकार मौन छ । हाइन भने ती लुटेरालाई कारवाही गर्न किन रोकिएको छ ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।
भगौडा दलाल बर्गको नेतृत्व गरेका प्रधानमन्त्री ओलीका कारण व्यापार व्यवसाय धरासायी हुँदै गइरहेको बताउँदै उनले वर्तमान सरकारलाई श्रमजीवि वर्गको बारेमा सोच्ने, बोल्ने, काम गर्ने समय नै नभएको टिप्पणी गरे ।
म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको उनले बताएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको उनले बताए ।
वैदेशिक रोजगारका ठगहरुलाई सरकारले संरक्षण गरिरहेको उनले बताए ।
सरकार गम्भीर नभएका कारण वैदेशिक रोजगारीमा जाने युवा ठगिन बाध्य भइराखेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘सरकारले न्याय दिलाउँछ कि दिलाउँदैन ? यहाँ जो रक्षक उही भक्षक जस्तो भयो ।’
टिप्पणीहरू: