मङ्गलबार, ०६ साउन २०८२

प्रचण्डलाई प्रधानमन्त्री ओलीकाे जवाफ- फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुस्


काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन्।

प्रतिनिधिसभाको साेमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कीर्तिपुरको रंगशालामा ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गरे पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको भन्दै प्रश्न गरेका थिए।

‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरमा रहेको क्रिकेट रंगशाला निर्माणको काम अघि बढायो। फ्लड लाइट जडान गर्न ठेक्का पनि भयो। तर, त्यही बेला हामी बाहिरिनु पर्‍यो। अनि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाईको सरकार बनेपछि उहाँले प्रतिष्ठाकै विषय बनाउँदै पहिलो निर्णय नै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गर्नुभयो। तर, आज एक वर्ष बित्यो, जोडियो त फ्लडलाइट?  बन्यो त प्याराफिट?’, प्रचण्डले  प्रश्न गरेका थिए।

उक्त प्रश्नकाे सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ फर्काउँदै प्रधानमन्त्री ओलीले कीर्तिपुरको मैदानमा बनिरहेको प्यारापिट र जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जान आग्रह गरेका हुन्।

‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ’, प्रधानमन्त्री ओलीले भने।

उनले थपे, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन। सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम। मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें। तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ