सोमबार, १५ मंसिर २०८२

चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ‍‍‍...


काठमाडौँ । “मिठो मानेर चिया खाइदिनुहोस् है ! छोराको आत्मा खुसी हुन्छ । मङ्सिर १० गते । आज उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको चिया र मालपुवा बाड्दै थिए । 

सडकमा रहेका असहायहरुको खोजी गर्दै चिया खुवाउँदै हुनुहुन्थ्यो । जेनजी आन्दोलनमा सहिद भएका रसिक खतिवडा खत्रीको आज जन्मदिन हो । रसिक जीवित भएको भए जन्मदिनमा सधैँ आफैँले चिया पकाएर बिस्कुट, मालपुवा, दुनोट केही न केही खानेकुरा बाँड्न सङ्कटा, बसन्तपुर पुग्थे । 

छोराले जन्मदिन मनाउने शैली हेर्दै आएका पुरुषोत्तम दम्पत्तीले उनले संसार छोडे पनि चिया खुवाउन वसन्तपुर पुगेको बताए । “उ यसरी नै आफ्नो जन्मदिनमा सडकका असाहयहरुलाई खाजीखोजी चिया खुवाउँथ्यो”, आमा रचनाले स्मरण गर्दै भनिन्, “दीनदुःखी देख्नै नसक्ने मेरो छोरोको के गल्ती थियो ? अनाहकै ज्यान गुमायो ।” 

छोराको सम्झनामा रचनाको रुनुबाहेक अरु कुनै विकल्प छैन । रसिकले गरेका हरेक राम्रा बानी र व्यवहार मात्रै आफ्नो आँखाभरि फनफनी नाच्ने गरेको उनी बताउछन् । जति दिन बित्छ, रचनाको कोखले छोरो खोजिरहन्छ । चिच्याएर रुनु पनि कति रुुनु ? रचनाका अनुसार छोराको सम्झनामा रुँदारुँदै आँसु सुकिसकेको छ । मन भने चर्किरहन्छ । आज रसिक बाँचेको भए, २३ वर्षमा टेक्दै थिए । बल्लतल्ल हुर्काएको छोरोले बिना कसुर ज्यान गुमाउनु पर्दा राज्यसँग रचनाको थुप्रै प्रश्न छन् । उहाँ भन्छिन्,“किन मारियो मेरो छोरो ? के गल्ती थियो उसको ?” 

रचनाको जीवनमा आक्रोश, प्रश्नहरु र छोराको स्मरणहरु मस्तिस्कमा नाचिरहन्छन् । बुबा पुरुषोत्तमले छोराको दयालु स्वभाव भुल्न सक्दैनन् । उनी रसिक बित्नुभन्दा १२ दिनअघिको घटना सम्झिन्छन्। त्यो दिन कान्छो छोरोलाई जस्तै गरी मायाले हुर्काएको कुकुर बित्यो । एक दशकदेखि आँखा अगाडि नाचिरहने कुकुर अचानक मरेर जाँदा मानव संवेदना हो, रुनु स्वभाविक थियो । कुकुर बितेपछि रुँदै बसिरहेका आमा बाबालाई फकाउने छोरा रसिक थिए । उनले त्यतिबेला जीवन हो, आउँछ–जान्छ, स्वीकार्नु पर्छ भन्ने आशयमा आफूहरुलाई सम्झाउँदाको परिपक्कता पुरुषोत्तमको हृदयमा सधैँ छापजस्तै रहनेछ । 

उनका एक मात्रै २२ वर्षे छोरा भदौ २३ गतेको जेनजी आन्दोलनमा सहिद भएका छन् । छोरो गुमाउँदाको घाउ आलै छ । आलो घाउमा मल्हम लगाउने आधारहरु खोज्दै पुरुषोत्तम जेनजी आन्दोलनका सहिदलाई न्याय दिलाउन सङ्घर्षरत अभियानमा छन् । “छोरो दिवङ्गत भएको अर्को दिनदेखि नै हामी सहिद घोषणा गर्नुपर्ने र राज्यले सम्मान दिनुपर्ने आवाज चर्काउँदै आएका थियौँ । अहिलेसम्म निरन्तर लागेका छौँ”, उनी भन्छन्, “२२ वर्षे छोराले जुन परिपक्कताका साथ जीवन हो आउँछ जान्छ, भनेको थियो त्यसैलाई स्वीकार गरेर न्यायको पक्षमा लागिरहेको छु ।” पुरुषोत्तमका अनुसार जेनजी आन्दोलनका सहिदका परिवारले केही राहत पाए पनि आहत भने जीवनभर नमेटिने बताए । उनीहरुको अहिलेको एउटै एउटै माग छ, “दोषिलाई कारबाही गर्नुपर्छ । अनि मात्रै सहिदले न्याय पाउँछन् ।”

रसिक २०६० माघमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० मा जन्मिएका थिए । होटेल म्यानेजमेन्ट विषय अध्ययरत रसिकको सपना स्वदेशै बसेर व्यवसाय गर्नु थियो । कलिलो तन, रसिलो भावसँगै अन्याय पटक्कै सहन नसक्ने विद्रोही स्वभावले रसिकलाई परिवार र साथीभाइ माझ सधैँ यादगार बनाएको छ । उनका बुबा पुरुषोत्तमका अनुसार सानैदेखि रसिकमा अन्याय सहने स्वभाव थिएन । एक दिन बाटोमा हिँड्दै कसैले एक महिलालाई जिस्क्याएछ । ती युवती कराउँदै थिइन् । बाटोमा आउने–जानेले खासै वास्ता गरेका थिएनन् तर बुबाको हात समाउँदै बजार हिडिरहेका रसिकले आँखा छलेर ती युवतीलाई परेको समस्या के हो भन्दै सोध्नपुगेछन्  । बुबा पुरुषोत्तमले विवादमा नफस भन्दै सम्झाउँदा पनि रसिकले कसैलाई अन्याय परेको छ भने साथ दिनुपर्छ भनेर सम्झाउनु भएको पुरुषोत्तम सम्झन्छन् । 

बुबा पुरुषोत्तम छोरा रसिकको गुणगान गाएर थाक्दैनन् । विगतको स्मरण गर्दै उनले रसिकको कोमल हृदयको समेत प्रशंसा गर्छन् । उनको ज्याकेट पसल थियो । त्यतिबेला रसिक सानै थिए । सानो बालक र निर्मल हृदयका थिए । एक दिन पसलबाट दुई/चार वटा ज्याकेट निकालेर साथीभाइलाई बाँडेछन् । पुरुषोत्तम यो देखेर रिसाए पनि । किन यस्तो गरेको ? भन्ने प्रश्न गर्दा भावुक आँखा बनाएर रसिकले भनेछन्, “बुबा मेरा साथीहरुसँग ज्याकेट किन्ने पैसा छैन । जाडो छेक्ने लुगा छैन । हामीले सहयोग नगरे कसले गर्ने ?”  

त्यो बालकको निर्दोष र कमलो भाव देखेर रिसाउनु भएका पुरुषोत्तम नरम भए र छोराको उदार मनबाट प्रभावित भए । रसिकको व्यवहारले घरमा धेरैलाई पाठ सिकाएको छ । आमा रचनालाई रसिक छोराभन्दा बढी साथी थिइन्। आमालाई चिया पकाएर खुवाउने उनको बानी थियो । अहिले चिया पकाउँदा र चिया शब्द सुन्दा पनि छोरा रसिककै झल्को आउने गरेको रचना बताउछिन् । गत भदौ २३ गते रसिकले बिहान खाना खाएर आन्दोलनमा जाने तयारी गर्दैगर्दा आमा–बुबाले नजान भनेर धेरैपटक रोक्न खोजेका थिए । जोसिला र ऊर्जाशील रसिकले “यो हाम्रो पुस्ताको आन्दोलन हो, जानुपर्छ”,  भनेर बानेश्वरतिर निस्किए । उनले जाँदाजाँदै भनेछन्, “मामु म आएर चिया पकाएर खुवाउँछु है । पीर नगर्नु ।” बुबा पुरुषोत्तम र आमा रचनाले छोराले चिया खुवाउने बाचा गरेको सम्झदै भावुक हुन्छन् ।

छोराको निधन भएपछि आमा रचनाका आँखा ओभानो छैनन् । बुबा पुरुषोत्तम भने बलियो मन बनाएर छोराको सपना पुरा गर्न लागेका छन् । गितार बजाउँदै, -याप गीत गाउनले रसिकको रसिलो स्वभावले खतिवडाको परिवार रङ्गमञ्च जस्तै रसिलो हुन्थ्यो । “उसलाई बालेनको गीत निकै मन पथ्र्याे”, पुरुषोत्तमले भने,“गितार बजाउन निकै रहर गथ्र्यो ।” 

जेनजी आन्दोलनको प्रदर्शनीका क्रममा भदौ २३ गते नै दिउसो गोली लागेर ज्यान गुमाएका रसिकले संसार छोडे पनि आमाबुबाको लागि छोरो संसारमा नरहेको विश्वास छैन । घटना भएको दिन साथीहरुले गोली लागेर ढलेका रसिकको ज्याकेट र मोबाइल घरमा पु-याइदिएका थिए । साथी क्याफेमा छ भन्दै झुटो बोसेर आमा रचनालाई वास्तविकता लुकाएछन् । त्यतिबेलासम्म पनि रचनालाई छोरो यस संसारमा नरहेको भन्ने कुनै सुइँको नै थिएन । तर, पछि अस्ट्रेलियामा रहेकी छोरीले छोराको अवस्थाबारे भिडियो पठाएपछि भने रचनाले अन्धकार महशुस गरिन् ।
  
बुबा पुरुषोत्तम नेपाल टेलिकमका कर्मचारी हुन् । भदौ २२ गते छोराको अन्तिम भेट गरेर उनी काठमाडौँ बाहिर गएका थिए । छोराको अचानक संसार छोडेको खबर अहिले पनि उनलाई सपना जस्तै लाग्ने गर्दछ । उनी भन्छन्, “उसको र मेरो त्यही दिन अन्तिम भेट थियो ।” 

छोराछोरीको लागि एउटा बुबा आमाले जीवनभर सङ्घर्ष गरेको हुन्छ । उनीहरुको उज्ज्वल भविष्यको लागि सबै दुःख सहन गर्छ । जसका लागि दुःख गरेको हो उ नै नरहँदा आफूहरुलाई पीडाको भारीले थिचेजस्तो भइरहेको पुरुषोत्तम बताउछन् । रसिक बाँचेको भए यतिबेला अस्ट्रेलियामा दिदीसँगै हुन्थे । होटेल म्यानेजमेन्टका विद्यार्थी रहेका रसिकले विदेशबाट कमाइ गरेर नेपालमा आई ठूलो रेष्टुरेन्ट खोल्ने सपना बुनेका थिए । उद्योग व्यवसायमा युवाहरुको प्रशस्त सम्भावना देखेका रसिकको इच्छामा पुरुषोत्तम सहयोगी हुनुहन्थ्यो । तर, अब भने रसिकको निधनसँगै सपना रोकिएको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ