मङ्गलबार, ०९ पुस २०८१

पृथ्वी राजमार्ग ३० घन्टादेखि अबरुद्ध, सञ्चालन अझै अनिश्चित


मलेखु (धादिङ), १२ असोज । पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीवार साँझदेखि अविरल वर्षाका कारण अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले राजमार्गको नौबिसे मुग्लिन खण्ड झण्डै ३० घण्टादेखि अवरुद्ध छ ।

पहिराले ठाउँठाउँमा सडक थुनिएको छ भने राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताबाट झरेका स–साना पहिरा, खोला खोल्साबाट उर्लिएको भलसँगै झरेको गेग्य्रान पनि राजमार्गमै थुप्रिएको छ ।

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने खत्रीपौवामा आज बिहानै पहिरोमा पुरिएको तीनवटा सवारीसाधन अझै निकाल्न सकिएको छैन । पहिरो ठूलो भएकोले सवारी पुरिएको ठाउँसम्म पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । “पानी निरन्तर परिरहेको छ, पहिरो खस्नेक्रम पनि रोकिएको छैन । दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोमा पुरिएका गाडीको स्वरुप मात्रै देखिएको छ । सवारीमा मानवीय क्षति भए नभएसमेतको यकिन गर्न सकिएको छैन”, मिश्रले भने, “पूर्ण रूपले पानी नरोकिएसम्म सडक खुलाउन सकिने सम्भावना निकै कम छ ।”

वर्षात र पहिराले बिजुली र इन्टरनेटको टावरमा क्षति पुगेकोले टेलिफोन र प्रहरीको सेटसमेतले काम नगर्दा रिपोर्टिङमा प्रहरीलाई नै समस्या परेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए । नौबिसे नागढुङ्गा खण्डको खत्रीपौवाबाहेक पृथ्वी राजमार्गअन्तर्गत सोही खण्डका ठाउँठाउँमा पहिरो झरेको छ । थाक्रे गाउँपालिकाको सात किलो, खयरघारी र बेनिघाट गाउँपालिका–३ सलाङ्घाटमा सबैभन्दा ठूलो पहिरो छ ।

गल्छी र गजुरीको माथिल्लो क्षेत्र र बेनिघाटको जोगिमारा क्षेत्रमा स–साना धेरै पहिरा गएका छन् । आज अपरान्हदेखि वर्षात् केही कम भए पनि ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले राजमार्ग सञ्चालन गराउन कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । 

पहिरोले शनिबार बिहानैदेखि अवरुद्ध धादिङबेसी मलेखु सडकखण्ड भने एकतर्फी खुलेको छ । यहाँ १७ किलोमिटर दुरीमा ६ स्थानमा पहिरो गएको थियो । अहिले सबै स्थानबाट एकतर्फी सवारी चल्नेगरी पहिरो पन्छाइएको छ ।  नीलकण्ठ नगरपालिका–८ र सिद्दलेक गाउँपालिका–१ को ठाउँठाउँमा पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गमा दैनिक १३ हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको तथ्याङ्क छ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ