- असार ०६, २०८०
काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने भएका छन् । ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेको बताएका छन् । एमाले अध्यक्ष ओली गत असार १७ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
चौथो कार्यकालका लागि ओली प्रधानमन्त्री भएपछि भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए । प्रधानमन्त्रीसँग भएको मन्त्रीहरूको सम्झौतामा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिलाई प्राथमिकतामा राखिएको थियो । त्यसैगरी मन्त्री र सचिव तथा प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबिच पनि कार्यसम्पादन सम्झौता भएको थियो ।
मन्त्रीहरुले १०० दिने उपलब्धी भन्दै बुँदागत प्रतिवेदन सार्वजनिक गरे पनि सर्वसाधारणको चासो र सरोकार रहेका सरकारी कार्यालयको सेवा प्रवाहमा कुनै सुधार हुन नसकेको सेवाग्राहीहरूको गुनासो छँदैछ। महँगी र भ्रष्टाचार नियन्त्रण तथा आर्थिक अवस्था चलायमान पार्ने ठोस योजना सार्वजनिक गर्न सकेको छैन ।
विपतको पूर्व तयारीमा कमजोरी गरेको सरकारले विपतपछि पनि राहत, उद्धार र पुनर्स्थापना पर्याप्त ध्यान नदिएको गुनासो पीडितहरूले बताउँदै आएका छन् । यद्यपि सरकारले विपत्तिमा अवरुद्ध, सडक, पुल र पीडितहरूलाई राहतको व्यवस्था गरेको बताउँदै आएको छ । बाढीपहिरो प्रभावित ७१ स्थानीय तहलाई विपत प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गर्दै वर्गीकरणका आधारमा रकम उपलब्ध गराउने सरकारले निर्णय गरिसकेको छ ।
टिप्पणीहरू: