शुक्रबार, २९ चैत २०८१

प्रकृतिकाे मृत शरीर आज नेपाल ल्याइने


काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी गरिएको छ ।

शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि दमन गरेको थियो ।

चर्को आलोचना भएपछि विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई अपशब्द बाेल्दै धम्कि दिइकी विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् ।

प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको थियो । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भएको छ । कलेज पीडक पक्षमा उभिएकाे भन्दै ब्यापक आलाेचना भइरहेकाे छ ।

यो घटनालाई लिएर नेपाल र भारतका विद्यार्थी आन्दोलित भइरहेका छन् भने संसदमा पनि प्रश्न उठेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ