शनिबार, ०६ भदौ २०८३

छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा


बागलुङ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताएका छन् । शर्माले छिटो न्याय दिनसकेमात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताए ।
 
अदालतहरूको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च आदलत पोखरा बागलुङ इजलासमा आएका प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको बताए। 

प्रधानन्यायाधीश शर्माले रु ७९ करोड लागतमा हालै निर्माण भएर सञ्चालनमा आएको उच्च अदालत पोखरा बागलुङ इजालस भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गरेका थिए। 

उच्च अदालत बार एकाइ बागलुङका अधिवक्तासँग अन्तर्क्रिया तथा छलफलमा उनले न्यायसम्बन्धी जनचेताना फैलाउन अधिवक्तहरूको मुख्य भूमिका रहेको बताए । उनले छिटो न्याय सम्पादन, सकभर जिल्ला अदालतबाटै मुद्दाको टुङ्गो लगाउन सकेमा जनतालाई सहज हुने बताए । 

“दुई वर्ष कटेका पुराना मुद्दा निकै कम रहेको पाएँ, यसलाई शून्यमा झार्नुपर्छ, पछिल्लो समय उच्च आदलत पोखरा बागलुङ इजलासमा पुराना मुद्दा घटाएर सुविधासम्पन्न भवनबाट सेवा दिँदा सहज भएको छ”, प्रधानन्यायाधीश शर्माले भने, “जनताले छिटो न्याय पाएमात्रै न्याय पाएको महसुस गर्नेछन्, प्रविधिमा अब्बल न्यायालय हुन आवश्यक छ ।”

प्रन्या शर्माले देशभरमै बालविवाह, सम्बन्धविच्छेद, जबर्जस्ती करणीलगायत मुद्दा बढ्नु राम्रो नभएको उनको भनाइ छ । अदालतलाई प्रविधिमैत्री बनाउँदामात्रै छिटो र समयमै न्याय दिन सकिने विश्वास व्यक्त गर्दै उनले सबै अदालतलाई प्रविधिमैत्री बनाइरहेको जानकारी दिए । जिल्ला अदालत नै पहिलो न्यायको ढोका रहेकाले सकभर जिल्ला अदालतबाटै न्याय दिने प्रणालीको विकास गर्न थालिएको उनले स्पष्ट पारे ।
 
जिल्ला अदालत बागलुङमा पछिल्ला केही वर्षयता मुद्दा फछ्र्योटको दरमा सुधार देखिएको अवलोकनका क्रममा पाइएको उनको भनाइ छ । आव २०८२/८३ मा जिल्ला अदालत बागलुङले कुल मुद्दाको लगतमध्ये ७७.९३ प्रतिशत मुद्दा फछ्र्योट गर्दै बाँकी मुद्दाको सङ्ख्या घटाएर १९७ पुर्याएको छ, जुन तथ्याङ्क पाँच वर्षयताकै थोरै बाँकी मुद्दा हो ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ