बिहिबार, २५ भदौ २०८३

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते


सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाँचखपन –८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर  अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् । 

पाँचखपन–८ पोख्राङमा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । हावाहुरी वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 

त्यस्तैगरी, चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएको प्रहरी निरीक्षक  राजवंशीले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो  ।  

 गम्भीर घाइते ६४ वर्षीय  कट्वाल र ६२ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले   जनाएको छ । घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटरपूर्वमा रहेको जनाइएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ