बिहिबार, २५ मंसिर २०८२

सरकार र जेनजीबीचकाे सम्झौताबारे ओलीकाे टिपप्णी- कलाविहीन भद्दा नाटक, मान्यता दिँदैनौं


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेनजीबीच भएकाे सम्झौतालाई कलाविहीन नाटक भएकाे टिपप्णी गरेका छन्।

बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उक्त सम्झौता कलाविहीनताका साथ पटाक्षेप भएको टिपप्णी गरे।

उनले भने, ‘हिजोको एउटा कलाविहीन नाटक थियो। त्याे नाटकको पटाक्षेप कसरी भो, त्यो दृश्य पनि सम्झना होला। जति कलाविहीन ढंगले नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप भएको छ। त्यसमा धेरै भन्नुपर्छ र?’

अध्यक्ष ओलीले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि सम्झौता गर्न नमिल्ने जिकिर गरे। साथै, उनले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्यान्डेट वर्तमान सरकारले कहाँबाट पायो? भन्दै प्रश्नसमेत गरे।

‘यो सरकार कुनै यस्तो सम्झौता गर्ने, प्रणालीकाबारे, व्यवस्थाकाबारे सम्झौता गर्ने कहाँबाट म्यान्डेट पायो? जनताबाट? कसैले भोट हालेकाे छ? चुनेको छ? गोबर लगाएर टाँसेको होइन? कसले टाँस्याे थाहा छैन’, पूर्वप्रधानमन्त्री ओलीले भने।

उनले जेनजीसँगको सम्झौता फजुल कागज भएको टिप्पणी गर्दै त्यसलाई मान्यता नदिने बताए।

‘त्यस्तो सरकारले पनि कोको बोलायो, कसलाई कागज थमायो, यो कागज लिएर आऊ भन्यो। रिहर्सलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे। जे सिकाएको थियाे, बाेल्दै जाँदा पाठ बिग्रियो। गडबड भयो। त्यहीँ अस्वीकार भयो त। उनीहरूले नै च्याते त्यो’, उनले भने, ‘हामीले त्यस्ता फजुल कागजहरूलाई कुनै मान्यता दिने भन्ने प्रश्नै हुँदैन। फजुल कागज हाे त्याे। यो कलाविहीन भद्दा नाटक हो।’ 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ