- असार ०६, २०८०
काठमाडौं । ‘एउटी चेली कुन देशमा कता गएर पढिन्, कुन देशमा गएर बिहे गरिन्, के भयो, अनि ती आफ्नो माइती देशमा एकपल्ट गइन् अरे, माइती देशमा गएको त्यहाँ त असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा कस्तो-कस्तो, कसरी अघि बढ्ने भन्ने नभएको अन्योलको त्यस्तो स्थितिमा सांसदमा को उठ्छ भन्दा, म उठ्छु, कसलाई समानुपातिक चाहिया छ भन्दा, मलाई भन्दै सांसद भइन् अरे । मन्त्री भइन् अरे । कहिले कहिले हुन्छ त्यस्तो, कहिले कहिले आकाशबाट माछा बर्सिन्छ । पानी परेका बेला माछा खस्छ, माछा ... ।’
एक वर्षअघि हो, एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित यस्ताे टिप्पणी गरे । विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको संवादमा ओलीले सुमनालाई संकेत गर्दै भनेका थिए ।
ओलीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै रास्वपा सांसदहरुले संसदमा समेत कुरा उठाए । महिलाप्रति ओली असहिष्णु भएको टिप्पणीसमेत भयो सामाजिक सञ्जालमा । तर, ओलीलाई यी कुनै पनि प्रतिक्रियाले फरक पारेन । उनी महिलाहरुका विषयमा झन झन कठोर हुँदै गए ।
महिलाप्रति ओली निर्मम भएर प्रस्तुत भएको घटना धेरै छन् । कुनै कार्यक्रममा भेट्दा महिलालाई ‘चेली’ भनेर फुरुक्क पार्ने ओलीकाे व्यवहार बाहिर देखिने भन्दा फरक छन् । आफ्नो प्रशंसा गर्नेहरुलाई मात्रै आफ्नो ठान्ने ओली आलोचना गर्नेका हकमा रुष्ट भावमा प्रस्तुत हुन्छन्, महिलाप्रति कति कठोर छन् भन्नका लागि ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दान पाएको प्रकरणमा दुई महिलालाई कारबाही गरेको उदहारण नै काफी छ । ओलीले दान लिएलगत्तै ‘त्यसरी जग्गा लिनु गलत हो’ भनेर टिप्पणी गर्नेहरु पुरुषहरु पनि थिए । पुरुषहरुका बारेमा उनलाई खास चासो भएन तर, दुई महिला डा. बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पार्टीको नीतिविपरित बोलेको भन्दै ६ महिनाका लागि निलम्बन नै गरे । पाण्डे र तिम्सिनासंगै भिम रावललाई पनि कारबाही गरेका ओलीले रावललाई फरक अभियोग लगाएका थिए ।
निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईकै सन्दर्भमा ओलीले दिएको अभिव्यक्तिले पनि महिलाप्रति उनको सोच कति साँघुरो छ, प्रष्ट पार्छ । शिक्षाको क्षेत्रमा केही गतिला काम गर्ने योजनासहित अघि बढेकी भट्टराई प्रधानमन्त्री ओलीको असहयोगकै कारण बाहिरिएकी थिइन् । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्ने सवालमा होस् या संविधानमा लेखिए बमोजिम नि:शुल्क विद्यालय शिक्षा कार्यान्वयनको सवालमा शिक्षामन्त्री भट्टराईको विपक्षमा उभिएका ओली अहिले भट्टराईलाई ‘असक्षम नेतृ’ को रुपमा स्थापित गर्न कम्मर कसेर लागेका छन् ।
ओलीको चाहना छ, आफ्नो सरकारका मन्त्रीमध्ये ‘राम्रो काम गर्ने’ भनेर स्थापित भएकी भट्टराईलाई मान्छेहरुले अझै खराब भनिदिउन् । यतिसम्म कि भट्टराईको पक्षमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई कारबाही गर्नेसम्मकाे संकेत गरे । आइतबार एमालेको सचिवालय बैठकमा उपाध्यक्ष शाक्य र ओलीको यही विषयमा नोकझोक चलेको थियो । उनले भट्टराईको सन्दर्भमा पुरानै कुरा दोहोर्याउँदै भने, ‘विद्या भट्टराई एउटा सांसदको हैसियतकी मान्छे रहिछन्, मैले मन्त्री बनाएँ । मन्त्री चलाउने क्षमता नदेखाएकाले राजीनामा दिइन् ।’
शाक्यप्रति ओलीकाे आह्रिस यहि पहिलाे हाेइन । ०७४ काे निर्वाचनमा शाक्यलाई बागमती प्रदेशकाे मुख्यमन्त्रीकाे रुपमा अघि सारिएकाे थियाे । अन्तिम समयमा ओलीकाे कृपाले डाेरमणी पाैडेल मुख्यमन्त्री भएका थिए ।
जहाँसम्म विद्य भट्टराईकाे सवाल छ २०७९ को निर्वाचनमा चुनाव नलड्ने योजना बनाएर बसेकी भट्टराईलाई ओली आफैँले उम्मेदवार हुनका लागि हारगुहार गरेका थिए । भट्टराईबाहेक अरुले चुनाव जित्न सक्ने सम्भावना नरहेको पार्टीको रिपोर्टिङ सुनेपछि ओलीले भट्टराईलाई उम्मेदवार हुन आग्रह गरेका थिए ।
मिठा र चिल्ला कुरा गरे पनि महिलाप्रति ओली असहिष्णु हुने गरेको अनौपचारिक टिप्पणी एमाले नेताहरुबीचमै हुने गरेको छ ।
टिप्पणीहरू: