- असार ०६, २०८०
भैरहवा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एउटा गभर्नर नियुक्ति गर्न नसक्ने सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।
दलिय दलाल दलतन्त्र, लुट एवं भ्रष्टाचारको बिरुद्धमा रुपन्देहीको पिप्रा महजिदिया बजारमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई तिहाईको शक्तिशाली सरकार आफ्नै भारी बोक्न नसकेर ढल्न लागेको बताए ।
‘राष्ट्र बैंकको गभर्नर खाली भएको महिनौ बितेको छ । यस्ता पदाधिकारी खाली हुनुभन्दा एक महिना अघि नै नियुक्ती गर्नुपर्ने हो । तर सरकारमै रहेका बीचमा किचलो छ । दुई तिहाईको शक्तिशाली सरकारले एउटा गभर्नर नियुक्ति गर्न सकेको छैन् । तर प्रधानमन्त्री र मन्त्रीहरुले सुशासनको कुरा गरेर थाक्दैनन, वास्तवमा यो सरकारले सुशासन दिन सक्दैन्,’ आजपा अध्यक्ष साहले भने, ‘दुई तिहाईको शक्तिशाली केपी शर्मा ओली नेतृत्वको सरकार धर्मराएको छ । यो सरकार आफ्नै भारी बोक्न नसकेर गलेर ढल्दैछ ।’
कांग्रेस र एमालेकाबीचमा ७ बुँदे सहमती भएर सरकार बनेको १० महिना भए पनि त्यसको एक बुँदा पनि अहिलसम्म कार्यान्वयन नभएर सरकार असफल भइसकेको उनले बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रम नै कांग्रेसले अपनत्व नलिएको साहले बताए ।
‘सरकारले ल्याएको नीति तथा कार्यक्रम मुलुकको आवश्यक्ता अनुसार आएको छैन् । त्यही कारण अधिकांश कांग्रेसका प्रभावशाली नेताहरुले संसद् भवनमै नीति तथा कार्यक्रमको खुलेर आलोचना गर्नुभएको छ । दुई पार्टीका बीचमा भएको ७ बुँदे सहमति १० महिना पुरा हुँदा समेत एउटा बुँदापनि कार्यान्वयन हुन सकेको छैन्,’ आजपा अध्यक्ष साहले भने ।
कांग्रेसले अब पनि एमालेको पापको भारी बोकिरहने गल्ती नगरोस् भन्ने सुझाव दिदै उनले प्रधानमन्त्री केपी ओलीको कुकर्मको साक्षी बस्ने काम कांग्रेस सभापति शेरबहादुर देउवाबाट भएको टिप्पणी गरे । राजनीतिक संयन्त्रबाट शासन गर्न खोज्दा आलोचित भएपछि कांग्रेस महामन्त्री गगन थापाहरु अहिले बैठकमै जान छोडेको उनले बताए ।
‘कांग्रेसले अब पनि एमालेको पापको भारी बोकिरहने गल्ती नगरोस् । केपी ओलीको कुकर्मको साक्षी बस्ने काम देउवाबाट भयो । देश पूरै असफल भैसक्यो, तथ्यांकको नाममा मिथ्यांकले पनि काम गर्न छोड्यो । भिसीको राजीनामादेखि विद्या भट्टराईको राजीनामाले पनि सरकारको असफलता पुष्टि गरिसक्यो । शिक्षक आन्दोलन अझै टुँगोमा पुगेको छैन, विद्यालय कर्मचारी आन्दोलनमै छन् । बैंक एवं सहकारी पीडितदेखी चिकित्सक, कर्मचारी सबै आन्दोलन भए पनि सरकारलाई कुनै बिषयको चिन्ता वा चासो छैन्,’ आजपा अध्यक्ष साहले भने ।
टिप्पणीहरू: