- असार ०६, २०८०
गोदावरी (कैलाली) । कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भट्ट विरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा पक्राउ गरिएको बताए ।
उनका अनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
भट्टले केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग रु पाँच लाख मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।
टिप्पणीहरू: