शुक्रबार, १४ कात्तिक २०८२

महेश बस्नेतले पत्रकार किशाेर श्रेष्ठलाई धम्क्याएकाेप्रति आपत्ति


काठमाडाैं। नेकपा एमालेका नेता महेश बस्नेतले पत्रकार किशाेरश्रेष्ठलाई धम्क्याएकाेप्रति समाजवादी प्रेस संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

'जनआस्था साप्ताहिकमा प्रकाशित भएको ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’ नामक शीर्षकको समाचारलाई लिएर जनआस्था साप्ताहिकका सम्पादक, जनआस्था डटकमका अध्यक्ष एवं समाजवादी प्रेस संगठन नेपालका सल्लाहकार किशोर श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्कीपूर्ण स्टाटस सार्वजनिक गरेको घटनाप्रति समाजवादी प्रेस संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ', महासचिव राेहित दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पत्रकारमाथि यस किसिमको धम्कीपूर्ण अभिव्यक्ति आउनु स्वतन्त्र प्रेस, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएकाे संगठनले जनाएकाे छ।

पत्रकारले जनचासोका विषयमा प्रश्न सोध्नु, समाचार लेख्नु वा आलोचना गर्नु उसको पेसागत दायित्व हो भन्दै त्यसको प्रत्युत्तरमा ज्यान मार्ने धम्कीसमेत दिने कार्य कुनै हिसाबले पनि न्यायसंगत हुन नसक्ने विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्तिमा भनिएकाे छ, 'तसर्थ, समाजवादी प्रेस संगठन नेपाल यस्तो अलोकतान्त्रिक, गैरराजनीतिक र आपराधिक प्रवृत्तिको कडा भत्र्सना गर्दछ। संगठनले तत्काल यो घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउँछ।'

सत्य र तथ्यका पक्षमा कलम चलाउने पत्रकारहरूलाई धम्की र त्रासमा पार्ने प्रवृत्तिले लोकतन्त्रको जग कमजोर पार्ने भन्दै संगठनले विज्ञप्ति जारी गर्दै सम्पादक किशोर श्रेष्ठलगायत सम्पूर्ण सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न राज्य जिम्मेवार बन्नुपर्ने संगठनको ठहर रहेकाे उल्लेख गरेकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ