- भदौ ०२, २०८१
 ध्रुव लम्साल
                                    
                                       ध्रुव लम्साल
                                    
                                    
                                 
                               
काठमाडाैँ। कलाकारद्वय निश्चल बस्नेत र दिपकराज गिरीविरुद्ध समाजको एउटा समूहले अहिले प्रश्न गरिरहेको छ। उनीहरुले यो विध्वंसलाई किन साथ दिए? सिंहदरबार, संसद भवन उनीहरुले नै जलाएको झैं कतिपयले असभ्य टिप्पणी पनि गरेका छन्।
भदौ २३ र २४ गते भएको जेनजी विद्रोहमा सहभागी भएका उनीहरुलाई सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुलाई स्वभाविक मानिदैन। उनीहरुमाथि गम्भीर आरोप लागेको छ, सम्पदा जलाउनका लागि मान्छेहरु उक्साएको। उनीहरुलाई प्रश्न गर्नेहरुले नेपाली समाजको चरित्र र स्वयं दिपकराज एवं निश्चलहरुको स्वभावबारे पनि विश्लेषण गर्न जरुरी छ।
स्वभावैले यी विद्रोही हुन्। यिनले विद्रोहको प्रारम्भ आफ्नै कर्मबाट सुरु गरे। नेपाली फिल्म उद्योगमा फिल्मको चरित्र परिवर्तनका विषयमा पटक पटक छलफलमा भएपनि व्यवहारमा लागू भएको थिएन।
‘फिल्म मौलिक हुनुपर्यो’ भनेर सबैले भन्थे तर, मौलिक फिल्म बनाउने आँट कसैले गरिरहेका थिएनन्। फिल्मको व्यापार लगातार गिर्दो थियो। बजारका बारेमा अध्ययन, अनुसन्धान शून्य। सरकारी निकाय चलचित्र विकास बोर्ड ‘सिनेमा संकटकाल’ लगाउने अन्तिम तयारीमा थियो। निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट’को ल्याबमा प्राविधिक काम हुँदै थियो। लुटबारे आम फिल्मकर्मी सकारात्मक थिएनन्। ‘फिल्म भनेको केटाकेटीको खेल होइन’, निश्चल र उनको टिमको उमेर हेरेर पाका फिल्मकर्मीले टिप्पणी गरेका थिए। लगातार फिल्म बनाएका तर, सफल हुन नसकेकाहरुको दुःख छुट्टै थियो। ‘त्यस्तो पनि फिल्म हुन्छ, बिहान लागेर बेलुका उत्रिन्छ’, ल्याबतिर आक्कल झुक्कल फुटेज देखेकाहरुले भन्थे।
‘लुट’ रिलिज भयो। कुनै पनि निर्माताको अनुमान मिलेन। लुट रिलिजपछि धेरैले अनुभव गरे, ‘समस्या बजारमा होइन रहेछ। समस्या हामीले बनाउने सिनेमामा रहेछ।’ निश्चलको लुट केबल एउटा सिनेमा मात्रै थिएन, सिंगो फिल्म उद्योगमाथि एक खालको विद्रोह थियो। आम नेपाली निर्माता, निर्देशकको मानकभन्दा फरक शैलीमा सिनेमा बनाएर सिंगै उद्योगसँग विद्रोह गरेका थिए। लुट रिजिलपछि ‘यस्तो पनि फिल्म हुन्छ’ भन्नेहरु पनि निश्चलले जस्तै फिल्म बनाउनका लागि वर्कसप चलाउन थाले। फिल्मको शैली परिवर्तन गर्न बाध्य भए।
फिल्म निर्माणमा मात्रै होइन, व्यक्ति पिच्छे संघ खोल्ने प्रवृत्तिले जहिल्यै हल सञ्चालकको रोहबरमा चल्नुपर्थ्याे। फिल्म जतिसुकै राम्रो किन नहोस् वा जति नै कमाओस्, निर्माताले कति पाउने भन्ने कुरा हल सञ्चालकले तय गर्थे। त्यसका विरुद्ध पनि निश्चलले अर्को विद्रोह गरे। अहिले हरेक निर्माताले हलमा फिल्म लगाएवापत ५० प्रतिशत सर्लक्क हात पार्छन्।
आफूलाई मुलधारका निर्माता दाबी गर्नेहरुले ‘सामान्य कमेडियन’को रुपमा अर्थ्याएका दिपकराज गिरि तीनै हुन्, जसले आज काँचका पर्दामा काम गर्ने (दोस्रो दर्जाका कलाकार)लाई एउटा फिल्ममा काम गरेवापत आधा करोड पारिश्रमिक लिने हैसियत निर्माण गरिदिएका छन्। जतिबेला दिपकराजले सिरियलमा काम गर्ने टिमलाई लिएर ‘छ एकान छ’ बनाउँदै थिए।
आम फिल्मकर्मीको बुझाई सकारात्मक थिएन। ‘तितो सत्य टिभीमै ठिक छ, हलमा काम छैन’, छ एकान छ बन्दै गर्दा पाका दाबी गर्ने निर्माताको टिप्पणी थियो। त्यसपछि वडा नम्बर छ हुँदै छक्का पञ्जा सिरिज निर्माण गरेका गिरिले फिल्मको व्यापारमा यस्तो चमक थपिदिए, नेपाली फिल्मले त्यति व्यापार गर्ला भनेर शायदै निर्माताले सोचेका थिए।
यद्यपि दिपकराजकै शैलीमा त्यसअघि पनि त्यही प्रकृतिका फिल्म नबनेको होइन। तर, अन्य फिल्मभन्दा दिपकराजले खोजेको विषय फरक थियो। दुई/चार करोड व्यापार गर्ने फिल्मलाई सुपरहिटको उपाधि दिइरहेको नेपाली फिल्म उद्योगमा दिपकराज त्यस्ता व्यक्ति ठहरिए, जसको एउटै फिल्मले २० करोड व्यापार गरिदियो। उनकै देन मान्नुपर्छ आज केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलगायतका कलाकारको माग फिल्म बजारमा उच्च छ। चल्तीको चकलेटी हिरोले भन्दा धेरै पारिश्रमिक लिन्छन्।
यदि दिपकराजले फिल्ममा त्यो क्रान्ति नगरेको भए आज माग्ने बुढाले एउटा फिल्म खेलेको ६१ लाख पारिश्रमिक नपाउन पनि सक्थे वा जितु नेपालका लागि निर्माताहरु डेट नकुर्न पनि सक्थे।
क्रान्ति भन्नेबित्तिकै सडकमा आएर नारा नै लगाउनुपर्छ, कुनै पार्टीमा आवद्ध हुनैपर्छ वा कसैको विरोध वा समर्थन गर्नैपर्छ भन्ने छैन। क्रान्तिमा माध्यम अनेक हुन्छन्। फिल्म उद्योगमा एकखालको क्रान्ति गरेका दिपकराज र निश्चलहरुले कुनै पार्टीका लागि गीत गाएनन्, कुनै पार्टीका लागि फिल्म बनाएनन् वा कुनै पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा चार तारा वा हँसिया हथौडाको ब्यानर समातेर हिँडेनन्। यसको अर्थ उनीहरु राजनीतिबाट टाढा थिए भन्ने होइन। ‘सै पनि एमाले, मै पनि एमाले..., भोट हालौँ रुखमा..., हो हो हामी माओवादी हो...’ भनेर नगाउनेहरु पनि राजनीतिक रुपमा सक्रिय हुन सक्छन्। यस अर्थमा दिपकराज र निश्चलहरु विद्राेहका बिम्ब हुन्। अलिकति ढिलाे हाेला उनीहरुले चाहेजस्तै विधिकाे शासन आउनलाई राेक्ने साहस कसैले गर्न सक्दैन।
कांग्रेस-एमालेको चिन्ता
सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी युवाहरुले भदौ २३ गते गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जना निर्दोष युवाहरुको हत्या भएपछि त्यसको भोलिपल्ट आक्रोशित भिडले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका महत्वपूर्ण र ऐतिहासिक सम्पदा जलाएर ध्वस्त बनाएको थियो। त्यसरी जलेका मध्ये केही ठाउँमा निश्चल, दिपकराजहरु पनि देखिएका छन्। आगलागी भएकै ठाउँमा कोही देखिँदैमा उसैले आगो लगायो भनेर अभियोग लगाउन पाइँदैन। निश्चल आफैँले भनेका पनि छन्, ‘मैले आगजनी गरेको प्रमाण जुटाउ, म कारबाही भोग्न तयार छु।’
समाजमा एउटा वर्ग छ, जो लामो समयदेखि सत्तामा बसेर हालीमुहाली गर्यो। कहिले सत्ताधारीको नाममा त कहिले प्रतिपक्षको नाममा राज्यको स्रोतसाधनमा हात घुसारिरह्यो। ऊ हाकाहाकी भन्छ- १९ जना निर्दोष युवाको मृत्यु केही होइन। तर, सिंहदरबार वा संसद् भवन जलेकोमा असाध्य चिन्तित छ। १९ जना निर्दोश युवाको हत्या गर्नेलाई कारबाही गरौँ भन्दैन तर, धुवाँ पुत्पुताइरहेको सिंहदरबारको छेउमा उभिएर सेल्फी खिच्नेलाई जेल नहाली हुन्न भन्छ।
केपी ओलीको घर जलाउन नेपाली कांग्रेसकै दोलखाका स्थानीय नेता सहभागी भएको पनि उसलाई जानकारी छ। गगन थापाको घर जलाउन एमालेकै कपनका स्थानीय नेता सहभागी भएको पनि जानकारी छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगो लगाउने एमाले युवा संघकै कार्यकर्ताले पहलकदमी लिएको पनि जानकारी छ। तर, यी कसैलाई पनि कारबाही गर्नुपर्छ भन्दैन। किनकी पार्टीमा जोडिएकाहरुको बचाउ गर्नु पार्टीका कार्यकर्ताको कर्तव्य हो।
दिपकराज गिरी, निश्चल बस्नेत, रिमा विश्वकर्मालगायत पार्टीको सदस्यता नलिएका तर, मुलुकमा सुशासन चाहिन्छ भन्थे। शायद जेनजी आन्दोलनले सुशासन ल्याउँछ भन्नेमा आशावादी भए होलान्। भिडमा पुगेपछि उत्तेजित हुँदै भिडियो पनि बनाए होला। यो घटनालाई अपराधको रुपमा व्याख्या गर्ने हो भने भ्रष्टाचारको विरोधमा स्कुल ड्रेसमै सडकमा प्रदर्शनमा उत्रिएकालाई टाउकामा गोली हान्न आदेश दिनेलाई कसरी व्याख्या गर्ने? कांग्रेस-एमालेका कार्यकर्ताले जवाफ दिनुपर्छ।
किन जाग्यो जेनजी?
जेनजीका नाममा यो विध्वंस कसरी भयो? पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन भएकाले त्यसले घटना सुरु भएपश्चातको विवरण पक्कै दिनेछ। क्षति कति भयो, कसरी भयो, को-को सहभागी भए पनि जानकारी देला। तर, किन भयो ? आयोगले भन्न सक्दैन।
संविधान संशाेधन र सुशासन कायम गर्नका लागि भन्दै नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले बोलेको कुरा व्यवहारमा उतारेका भए यो स्थिति आउने थिएन। सत्तामा पुग्नुलाई नै सबैभन्दा ठूलो उपलब्धि मानेका केपी ओली र शेरबहादुर देउवाले प्रधानमन्त्री पद दिन गनेर भाग लगाउनु नै दुर्दिनको सुरुवात थियो।
अदालत, अख्तियारलगायत अन्य सरकारी निकायका ‘हाकिमहरु’का शैलीले युवा पुस्तालाई वाक्क दिक्क बनाएको थियो। काम केही नगर्ने तर, हामीले गज्जब गरिराखेका छौं भन्ने केपी ओलीको गर्जन र प्रधानमन्त्री पद पाइने लोभमा ओलीका गर्जनलाई मुन्टो हल्लाएर समर्थन गर्ने देउवाको शैली देखेर युवा पुस्ता असन्तुष्ट थियो।
पात्र हाेइनन् प्रवृत्ति
एमालेमा त जनताको असन्तुष्टि बुझ्ने ल्याकत तेस्रो पुस्ताका नेताहरुमा समेत देखिएन। कांग्रेस महामन्त्री गगनकुमार थापाले भने भुइँ तहका जनतामा असन्तुष्टि बढ्दै गएको र ती असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्नुपर्ने सुझाब सरकारमा बस्नेहरुलाई दिइरहे। सरकारमा बस्नेहरुले गगनको भनाईलाई मात्रै देउवाको आलोचनाका रुपमा बुझे। ओलीले असन्तुष्ट एवं आलोचकलाई एमाले विरोधी भनेर व्याख्या गरे। विरोधीलाई ‘बाल दिन पर्दैन’ भन्ने उनको मनोगत सिद्धान्त अझै कायम छ।
सरकारमा वा सरकारका छेउछाउमा बस्नेहरुले भुइँ तहको असन्तुष्टि बेवास्ता गरिरहेपछि दिपकराज वा निश्चलहरु उठ्छन्। निश्चल र दिपकराज केबल पात्र होइन्, प्रवृत्ति हुन्। व्याख्या गर्नेहरुले जे सुकै गरुन्, उनीहरुको अपेक्षा धेरै छैन। मात्रै विधिको शासन भए पुग्छ।
प्रवृत्ति यस अर्थमा कि यी पात्रहरु विश्वका कुनै पनि सम्पन्न मुलुकमा आफ्ना तीन पुस्ताका लागि वैधानिक रुपमा स्थायी बसोबास गर्ने हैसियत राख्छन्। तर, जाँदैनन्। यही मुलुकमा बसिरहन्छन्। शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भन्दा देशकाे धेरै माया छ उनीहरुलाई र चेतनाकाे स्तर पनि उचो छ।
उनीहरुको उद्देश्य ओली वा देउवाको ठाउँमा अर्को कुनै पात्रको स्थानान्तरण होइन। पात्रभन्दा पनि प्रवृत्ति परिवर्तनका लागि यी आजीवन लड्ने हैसियत राख्छन्। भोलि आउने सत्ताधारी व्यक्तिमा पनि ओली प्रवृत्ति कायम रह्यो भने यो प्रवृत्ति यसैगरी उठिरहने छ र विधिको शासनका लागि सशक्त आवाज उठाइरहने छ। फेरि दोहोर्याएँ, निश्चन वा दिपकराजको सेल्फी हेरेकै भरमा, आरोप लगाएकै भरमा अपराधमा संलग्न कसैले पनि उन्मुक्ति पाइएला भनेर अपेक्षा नगरे हुन्छ।
टिप्पणीहरू: