शुक्रबार, ०४ वैशाख २०८३

टर्कीमा १४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गाेली चलाउदा नाै जनाकाे मृत्यु, १३ घाइते


टर्की ।  कडा बन्दुक नियन्त्रणका लागि परिचित टर्की एकै साता दुईवटा विद्यालय गोलीकाण्डले स्तब्ध बनेको छ । पछिल्लो घटनामा दक्षिणी कहरामानमारस प्रान्तस्थित एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

गृहमन्त्री मुस्तफा सिफ्ट्कीका अनुसार घाइतेमध्ये छ जना सघन उपचार कक्षमा छन् र तीन जनाको अवस्था गम्भीर छ । घटनाका आक्रमणकारी आठौँ कक्षामा अध्ययनरत १४ वर्षीय किशोर रहेको पुष्टि गरिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनले आफ्नै बुबाको बन्दुक झोलामा लुकाएर विद्यालय ल्याएका थिए ।

कहरामानमारसका गभर्नर मुकेरेम उनलुरले आक्रमणको विवरण दिँदै उक्त विद्यार्थीले दुई वटा कक्षाकोठामा प्रवेश गरेर जथाभावी गोली चलाएको बताए । “उनले अनियमित रूपमा गोली हाने, जसका कारण धेरै विद्यार्थी र शिक्षकहरू घाइते तथा मृतक भए”, उनले भने।

घटनापछि सार्वजनिक भएको भिडियोमा विद्यार्थीहरू ज्यान जोगाउन विद्यालय भवनको पहिलो तलाबाट हाम फाल्दै भागेको देखिन्छ । करिब डेढ मिनेटको उक्त भिडियोमा कम्तीमा १५ राउन्ड गोली चलेको आवाज सुनिन्छ । अन्य विद्यार्थीहरू विद्यालयको आँगन हुँदै भागिरहेका दृश्यले घटनाको भयावहता झल्काउँछ ।

गभर्नर उनलुरका अनुसार आक्रमणकारी एक पूर्वप्रहरी अधिकारीका छोरा थिए र उनीसँग पाँचवटा बन्दुक तथा सातवटा म्यागजिन थिए । घटनाक्रमकै बीच उनको मृत्यु भएको पुष्टि गरिएको छ । “उनले आफैँलाई गोली हानेका हुन् कि अराजक अवस्थामै मृत्यु भयो भन्ने अझै स्पष्ट भएको छैन”, उनले भने ।

प्रहरीले घटनापछि आक्रमणकारीका बुबा उगुर मर्सिन्ली र आमालाई नियन्त्रणमा लिएको जनाएको छ । साथै, किशोरको सामाजिक सञ्जाल गतिविधि जाँच गर्दा उनले अमेरिकी सामूहिक हत्यारा इलियट रोडगरलाई सन्दर्भ गरेको खुलेको छ । सन् २०१४ मा क्यालिफोर्नियामा छ जनाको हत्या गरेर आत्महत्या गरेका रोडगरप्रति उनले रुचि देखाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनास्थलबाट आएका दृश्यहरू अत्यन्त हृदयविदारक छन् । स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको फुटेजमा शवहरू बोकेका झोला र आत्तिएका अभिभावकहरू विद्यालयतर्फ दौडिरहेका देखिन्छन् । घटनापछि गृह र शिक्षामन्त्री तत्काल त्यहाँ पुगेका छन् भने न्यायमन्त्री अकिन गुर्लेकले विस्तृत अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

पीडित परिवारहरूको पीडा झन् मार्मिक छ । एक अभिभावक ओमर एर्दागले आफ्नो अनुभव सुनाउँदै भनिन्, “मेरो बच्चाले त्यो दृश्य देखेपछि मलाई भन्यो—‘बुबा, मेरो साथीलाई चोट लागेको छ ।’ भित्र धेरै रगत थियो । भगवानलाई धन्यवाद, मैले मेरो बच्चालाई सुरक्षित निकाल्न सकेँ ।” उनले भविष्यमा आफ्ना छोराछोरीलाई फेरि त्यही विद्यालय पठाउन सकिने कि नसकिने चिन्ता व्यक्त गरे ।

स्थानीय बासिन्दा जुलेहा बोस्काले पनि घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै बालबालिकामा बढ्दो हिंसात्मक प्रवृत्तिबारे प्रश्न उठाए । “के हिंसात्मक भिडियो गेमहरूले यस्तो मनोवैज्ञानिक असर पारिरहेका छन् ? वास्तविक समस्या के हो, हामी अझै बुझ्न सकेका छैनौँ”, उनले भने ।

घटनाको विरोधमा राजधानी अन्कारामा शिक्षक युनियनहरूले प्रदर्शन गर्दै विद्यालय सुरक्षामा कडाइ गर्न माग गरेका छन् । “हामी हाम्रा विद्यालयहरूलाई हिंसाको थलो बन्न दिन्नौँ”, भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।

राष्ट्रपति रेसेप तैयप एर्दोगनले घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई पूर्ण रूपमा अनुसन्धान गरिने बताए । “हामीले उज्ज्वल विद्यार्थीहरू र एक समर्पित शिक्षक गुमाएका छौँ”, उहाँले सामाजिक सञ्जालमार्फत उल्लेख गर्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गरे।

यो घटना हुनु एक दिनअघि मात्र सान्लिउर्फा प्रान्तमा अर्को विद्यालयमा गोलीकाण्ड भएको थियो, जहाँ एक पूर्व विद्यार्थीले १६ जनालाई घाइते बनाएका थिए । तीमध्ये १० जना विद्यार्थी थिए । आक्रमणकारीले पछि आत्महत्या गरेका थिए ।

लगातार यस्ता घटनाले टर्कीमा विद्यालय सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । प्रमुख विपक्षी दलका नेता ओजगुर ओजेलले विद्यालयहरूमा बढ्दो हिंसालाई अब सामान्य घटनाका रूपमा लिन नसकिने बताए । “यो गम्भीर सुरक्षा सङ्कटमा परिणत भइसकेको छ”, उनले चेतावनी दिँदै विद्यालयमा कडा निगरानी, सुरक्षाकर्मी वृद्धि, क्यामेरा प्रणाली सुदृढीकरण र आपतकालीन योजना अनिवार्य बनाउनुपर्ने बताए ।

टर्कीमा कडा बन्दुक कानून भए पनि पछिल्ला घटनाहरूले कार्यान्वयन र निगरानीमा कमजोरी रहेको सङ्केत गरेका छन् । विज्ञहरूका अनुसार विद्यालयलाई सुरक्षित क्षेत्र बनाउनेतर्फ अब तुरुन्तै ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ