- भदौ ०१, २०८१
तेलअभिव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा सह–पाइलटको आक्रमणपछि विमानलाई नियन्त्रणमा लिएर सम्भावित ठूलो दुर्घटना रोक्न भूमिका खेलेका भारतीय पाइलट तथा यात्रुहरूको प्रशंसा गरेका छन् ।
दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबाई विमानका सह–पाइलटले अर्का पाइलटमाथि आक्रमण गरेपछि विमान एक मिनेटभित्र करिब १७ हजार फिट तल झरेको र मार्ग परिवर्तन गरी साउदी अरेबियाको तबुकमा आकस्मिक अवतरण गर्नुपरेको थियो । विमानमा रहेका १७४ यात्रुमध्ये १६६ जना इजरायली नागरिक रहेको सञ्चारमाध्यमले जनाएका छन् । सबै यात्रु सुरक्षित रहेको फ्लाईदुबाईले जनाएको छ ।
प्रधानमन्त्री नेतान्याहुले सह–पाइलटले विमान दुर्घटनामा पारेर सबै यात्रुलाई मार्ने प्रयास गरेको बताए । उनले यात्रुहरूले ठूलो विपत्ति रोक्न सहयोग गरेको भन्दै प्रशंसा गरे । साथै, घाइते भारतीय पाइलट स्मित मच्छरले असाधारण बहादुरी देखाउँदै प्रतिकार गरेर विमानमा ठूलो दुर्घटना हुन नदिएको बताए ।
भारतीय दूतावासका अनुसार घाइते पाइलटको साउदी अरेबियाको अस्पतालमा उपचार भइरहेको छ । तबुक विमानस्थल सञ्चालन गर्ने कम्पनीले सह–पाइलट पनि अवतरणका क्रममा घाइते भएको जनाएको छ । फ्लाईदुबाईले घटनाको अनुसन्धान भइरहेकाले इजरायलका लागि आफ्ना उडान स्थगित गरेको जनाएको छ ।
यात्रु मिरियम शिरा ओहायोनले विमान केही समय ‘धेरै हदसम्म नियन्त्रण बाहिर’ रहेको बताइन् । उनका अनुसार सह–पाइलटले पाइलटको हत्या गर्ने प्रयास गरेपछि यात्रुहरूले उनलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए । अर्का यात्रु अल्मोग इटालीले ककपिटनजिकै झगडा सुरु हुनुअघि विमानमा ठूलो अशान्ति भएको र अगाडिका यात्रुले स्थिति नियन्त्रणमा लिन सहयोग गरेको बताए ।
इजरायलको विदेश मन्त्रालयले घटनालाई इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध बिगार्ने उद्देश्यले गरिएको ‘आतङ्कवादी आक्रमणको प्रयास’ भनेको छ । रक्षामन्त्री इजरायल काट्जले यसलाई ‘जिहादी आतङ्कवादी आक्रमणको प्रयास’ भनेका छन् । विदेशमन्त्री गिडियोन सारले संयुक्त अरब इमिरेट्सका शीर्ष कूटनीतिज्ञ अब्दुल्लाह बिन जायद अल नाह्यानसँग कुराकानी गर्दै चरमपन्थी तत्वविरुद्ध सहकार्य गर्न सहमति भएको बताए ।
इजरायली सञ्चारमाध्यमका अनुसार सम्भावित अपहरणको आशंकामा सेनाले लडाकू विमान परिचालन गरेको थियो । विमानभित्रबाट खिचिएको भिडियोमा टाउकोमा चोट लागेका एक यात्रुले सहयोग मागेको देखिएको थियो । साउदी अरेबियामा अवतरणपछि आफूहरूलाई न्यानो स्वागत गरिएको यात्रु इटालीले बताए ।
घटना अक्टोबरको अन्त्यमा हुने इजरायली निर्वाचनको केही साताअघि भएको हो । मङ्गलबार प्रधानमन्त्री नेतान्याहुले निर्वाचनअघि इजरायलका शत्रुहरूले आक्रमणको प्रयास गर्न सक्ने ‘सङ्केत’ रहेको बताएका थिए ।
टिप्पणीहरू: