आइतबार, ०३ फागुन २०८२

नेपाली क्यालकुलेटर : हिसाब किताब अब नेपाली भाषामै सम्भव


पछिल्ला वर्षहरूमा प्ले स्टोरमा नेपाली भाषामा आधारित मोबाइल एपहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। चाहे त्यो नेपालीहरूले दैनिक रूपमा प्रयोग गर्ने पात्रो एप होस्, सेयर बजारसम्बन्धी एप होस्, वा डिजिटल भुक्तानी सेवा जस्तै इसेवा र खल्ती नै किन नहोस्यी - सबैको साझा उद्देश्य नेपाली प्रयोगकर्तालाई आफ्नै भाषामा सेवा प्रदान गर्नु हो।

हाल नेपाली एप डेभलपरहरू नेपाल लक्षित दैनिक जीवनलाई सहज बनाउने विभिन्न एपहरू विकास गर्न सक्रिय देखिन्छन्। यस्ता एपहरूको प्रारम्भिक प्रयोगकर्ता प्रायः युवा तथा डिजिटल साक्षर समूह हुने गरेका छन्। फिचर फोनबाट स्मार्टफोनमा उक्लिँदै गरेका र अझै भरपर्दो इन्टरनेट सुविधा नपुगेका नागरिकलाई लक्षित गरी निर्माण गरिएका एपहरूले उनीहरूको दैनिकीलाई सरल र सहज बनाउँदै लगेका छन्।

यही सन्दर्भमा ‘नेपाली क्यालकुलेटर’ एक उपयोगी मोबाइल एपका रूपमा प्रस्तुत भएको छ। इन्टरनेट बिना नै सञ्चालन गर्न सकिने यो एपले प्रयोगकर्ताको दैनिक हिसाब–किताबलाई सजिलो बनाउने थुप्रै सुविधा उपलब्ध गराउँछ। पूर्ण रूपमा नेपाली भाषामा विकास गरिएको यस एपले प्रयोगकर्तालाई एपका सम्पूर्ण सेवा र सुविधाहरू नेपाली भाषामै प्रयोग गर्न दिन्छ।

एप खोल्नेबित्तिकै स्क्रिनको देब्रेपट्टि नेपालको हालको मिति र समय देखिन्छ भने दाहिनेपट्टि नेपाली घडी प्रदर्शन हुन्छ। यस एपको मुख्य विशेषता भनेको नेपाली भाषामै क्यालकुलेटरको काम गर्नु हो। सामान्य अंग्रेजी क्यालकुलेटरमा जोड, घटाउ, गुणा वा भाग गर्दा आउने नतिजा अंग्रेजी अंकमै देखिन्छ। यदि रकम ठूलो भएमा त्यसलाई नेपाली भाषामा रूपान्तरण गर्न कठिनाइ पर्न सक्छ। तर नेपाली क्यालकुलेटरमा गरिएको हिसाबको उत्तर नेपाली अंक तथा शब्दमै देखाइन्छ, जसले प्रयोगकर्तालाई नेपाली गणना प्रणालीअनुसार हिसाब गर्न सहज बनाउँछ।

अंग्रेजी क्यालकुलेटरमा हरेक तीन अंकको नोटेसन (जस्तै १,०००,०००) प्रयोग हुन्छ, जुन नेपाली गणना प्रणालीभन्दा फरक छ। नेपाली नोटेसनमा सुरुमा तीन अंक र त्यसपछि दुई–दुई अंकको आधारमा संख्या लेखिन्छ (जस्तै १०,००,०००)। नेपाली क्यालकुलेटरले यही नेपाली प्रणालीअनुसार सटिक नतिजा उपलब्ध गराउँछ।

यस एपको अर्को महत्वपूर्ण सुविधा गाउँघरमा प्रचलित सावाँ–ब्याजको हिसाब हो। उदाहरणका लागि, कसैलाई सयकडा दरले दिएको सापटी फिर्ता लिँदा कति रकम हुन आउँछ भन्ने हिसाब एपले सजिलै गरिदिन्छ। प्रयोगकर्ताले सापटी दिएको मिति र फिर्ता लिएको मिति नेपाली क्यालेन्डरबाटै छनोट गर्न सक्छन्। सापटीको रकम, सयकडा दर, दिएको मिति र फिर्ता भएको मिति प्रविष्ट गरेपछि पाउनुपर्ने कुल रकमको हिसाब तुरुन्तै देखिन्छ। यसले गाउँघरमा प्रचलित सर–सापटीको गणनालाई निकै सहज बनाएको छ।

क्षेत्रफल रूपान्तरण पनि यस एपको अर्को उपयोगी फिचर हो। एक एकाइको जग्गा अर्को एकाइमा रूपान्तरण गर्दा हुने अन्योललाई यसले अन्त्य गरेको छ। उदाहरणका लागि, बिघामा रहेको जग्गालाई रोपनीमा रूपान्तरण गर्न सहजै सकिन्छ-जस्तै ७ बिघा जमिन कति रोपनी हुन्छ भन्ने हिसाब अब झन्झटबिनै गर्न सकिन्छ। यस फिचरमार्फत बिघा, कठ्ठा, पैसा, रोपनी, आना, धुर, वर्ग मिटर र वर्ग फिटबीच पारस्परिक रूपान्तरण गर्न सकिन्छ।

एपमा उमेर गणना गर्ने सुविधा पनि समावेश गरिएको छ। जन्ममिति नेपाली क्यालेन्डरमा प्रविष्ट गरेपछि आजको मितिसम्मको उमेर वर्ष, महिना र दिनमा कति भयो भन्ने विवरण तुरुन्तै प्राप्त हुन्छ।

नेपाली मितिलाई अंग्रेजीमा र अंग्रेजी मितिलाई नेपालीमा रूपान्तरण गर्न अब अनलाइन टुलको आवश्यकता पर्दैन। यो सुविधा एपमै अफलाइन रूपमा उपलब्ध छ।

विदेशमा रहेका आफन्तसँग समय मिलाउनुपर्ने आवश्यकता पनि धेरै नेपाली परिवारमा देखिन्छ। नेपालमै बसेका आमा–बुवा वा आफन्तलाई विदेशमा कति बज्यो भन्ने जिज्ञासा रहिरहन्छ। एपको विश्व समय सम्बन्धी फिचरले प्रयोगकर्तालाई आफूले छनोट गरेको देश र सहरको हालको समय देखाउँछ। मनपर्ने वा आफ्ना आफन्त रहेका सहरलाई पिन आइकनमार्फत सुरक्षित राख्न सकिन्छ। यसो गर्दा अर्को पटक समय हेर्दा ती सहर सूचीको शीर्ष स्थानमा देखिन्छन्।

यसका अतिरिक्त एपमा तौल, तापक्रम र लम्बाइ रूपान्तरणजस्ता उपयोगी सुविधाहरू पनि समेटिएका छन्।

नेपाली क्यालकुलेटर नेपाली भाषामा आधारित, इन्टरनेट बिना सञ्चालन हुने र दैनिक जीवनका विविध गणनालाई सरल बनाउने बहुउपयोगी मोबाइल एप हो। हाललाइ यो एप गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ आगामी दिनमा एप्पल स्टोरमा पनि यो एप उपलब्ध हुने छ।

गुगल  प्ले स्टोर लिङ्क

https://play.google.com/store/apps/details?id=com.nepalicalculator.app&hl=en_IE   https://play.google.com/store/apps/details?id=com.nepalicalculator.app&hl=en_IE  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ

  • भदौ ०३, २०८१
नयाँ रकेट लन्च