- असार ०६, २०८०
काठमाडौँ, ३ पुस । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नयाँ टोली खटाउने तयारी गरेको छ ।
घटना भएको ६ वर्षसम्म पनि पन्तको हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले फेरि नयाँ तरिकाबाट अनुसन्धान गर्ने भन्दै टोली खटाउन लागेको हो । २०७५ साउन १० गते घरबाट साथीको घर गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट घर नजिकैको उखुबारीमा शव फेला परेको थियो ।
प्रहरीका अनुसार, निर्मला हत्या प्रकरणको अनुसन्धानबारे पुनः विश्लेषण गरेर अघि बढ्ने तयारी थालिएको हो । त्यसका लागि प्रहरीले हालसम्म प्राप्त प्रमाण र प्रहरीको अनुसन्धानबाट खुलेका तथ्यहरूबारे विश्लेषण गर्दै अनुसन्धान थाल्नेछ । प्रमाण र तथ्यबारे प्रहरी प्रधान कार्यालयले विश्लेषणको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको छ ।
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले मंगलबार त्यसबारे अनुसन्धानमा खटिएका केही प्रहरी अधिकारी र अन्य व्यक्तिहरूसँग पनि लामो छलफल गरेका छन् । छलफललगत्तै सीआईबी टोलीलाई पुनः कञ्चनपुरमा खटाएर अनुसन्धान गर्ने तयारी भएका प्रहरीले जनाएको छ ।
निर्मला हत्या प्रकरणबारे हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मात्रै अनुसन्धान गरिरहेको छ । यसअघि, लामो समय सीआईबीको टोली कञ्चनपुर नै बसेर अनुसन्धान गरेको थियो । हत्यालगत्तै खटिएको सीआईबी टोली गत वर्षमात्र कञ्चनपुरबाट फिर्ता भएको थियो । तर, कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रहरी नै विभाजित अवस्थामा थियो । निर्मला पन्त वर्तमान गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रकी स्थानीय हुन् । हत्याको एक महिनापछि ०७५ भदौमा प्रहरीले कञ्चनपुरकै दिलीप विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । तर, पछि उनको डीएनए परीक्षण नमिलेपछि उनी छुटेका थिए ।
अदालतको आदेशबाट विष्ट रिहा भएका हुन् । केही प्रहरी अधिकारीले विष्ट नै निर्मलाको हत्यारा भएको दाबी गरे पनि अदालतले भने प्रमाण अपुग भन्दै रिहा गरिदिएको थियो । प्रहरीले निर्मला हत्याको अनुसन्धानका लागि सयौँको डीएनए परीक्षण गर्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।
टिप्पणीहरू: