सोमबार, ०८ पुस २०८१

'नागरिकताका सवालमा छाेरा र छाेरीविच विभेद छ'


ललितपुर, पुस । पूर्वसञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले आमाको नामबाट नागरिकता लिने विषय संविधानमा नै व्यवस्था गरेर कानुन बनाउनुपर्ने बताएकी छिन्  ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग) विहीबार आयोजना गरेको ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा पूर्वमन्त्री शर्माले बाबुको पहिचान खुलाउन नचाहेको अवस्थामा स्वतन्त्र ढङ्गले नागरिकता दिने सन्दर्भमा महिलालाई अधिकार नहुँदा समस्या भएकाले संविधान संशोधन आवश्यक रहेको बताइन्। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ शर्माले भनिन् “सम्पत्तिमाथि छोरा र छोरीको समान अधिकारको व्यवस्था गरिए पनि प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन, आमाको नामबाट नागरिकता दिने विषय र बाबुको पहिचान खुलाउन नचाहेको अवस्थामा संविधानमा नै व्यवस्था गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” यही मुलुकमा जन्मेका छाेराले विदेशी विवाह गरेमा बुहारीलाई तुरुन्तै नागरिकता दिने तर, विदेशी नागरिकसंग विवाह गर्ने छाेरीले नपाउने प्रावधार रहेकाे उल्लेख गर्दै नागरिकताकाे सन्दर्भमा छाेरा र छाेरीविच विभेद गर्न नपाइने धारणा राखिन् ।

नेपालमा पितृसत्तामुखी साेच अझै हाभी भएकाे भन्दै नेतृ शर्माले महिलालाई अधिकार दिने सवालमा समाज कन्जुस रहेकाे धारणा राख्दै भनिन् 'अहिले महिलाकाे नाममा सम्पत्ती केही बढेकाे छ । त्याे महिलालाई अधिकार दिइएकाे हाेइन । छुट पाइने लाेभमा मात्रै भएकाे हाे ।'

नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री सीता गुरुङले महिला समानता, सहभागिता र सामाजिक न्यायका कुरालाई कानुनमा लेख्ने कुरामा ज्यादै सङ्घर्ष गर्नुपरेको सुनाउदै राज्य संरचना र मानसिकता महिलामैत्री नहुँदा समस्या भएको धारणा राखिन् । संविधान सभामा महिला अधिकारका कुरा गरे वापत कतिपय सम्मानित व्यक्तिहरुबाटै हाेच्याइएर कुरा गरेकाे अनुभव सुनाइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेतृ विन्दा पाण्डेले संविधान संशोधन गरेर आमनेपालीले सहजै नागरिता पाउन सक्नेगरी नागरिकतासम्बन्धी ऐन संशोधन गर्नुपर्नेमा जोड दिँदै महिलाहरुले अधिकारका लागि अझै लड्न पर्ने धारणा राखिन्।

कार्यक्रममा कानुनविज्ञ सविन श्रेष्ठलगायत सहभागी सरोकारवालाहरूले आ–आफ्नो धारणा र भोग्नुपरेका समस्या जानकारी गराउदै । समस्यामा परेकाहरुलाई सहयाेग गर्दै आएकाे जानकारी समेत गराए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ