- असार ०६, २०८०
काठमाडौं । ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ मा रहेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोमाथि अमानवीय व्यवहार भएको छ ।
केवलकारकाे विराेधमा तापलेजुङ पुगेका महतो काफ्ले पार्टी भन्ने ठाउँमा एक होटलमा बास बसेका थिए । शुक्रबार बिहान होटलमा उनलाई खाना र पानीसमेत नदिई घेरा हालिएको थियो ।
मुक्ति पार्टीका नेता केशव झाका अनुसार १४/१५ जनासहित बास बसेका महतोलाई प्रहरीले समेत अमानवीय व्यवहार गरेका छन् । स्थानीय गुण्डाले समेत घेरा हाल्दा र दुर्व्यवहार गर्दैगर्दा प्रहरीले चासो नदिएको उनले बताए ।
महतोलाई केवलकार बनाउनुपर्ने पक्षबाट अमानवीय व्यवहार भएको र प्रहरी मूकदर्शक बनेको बताउँदै उनले सरकारसंग शान्ति सुरक्षाको माग गरेका छन् ।
वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै नो केवलकार समूहले आन्दोलन गरिरहेका छन् । महतोले सो आन्दोलनमा समर्थन गर्दै ‘मुक्कमलुङ बचाऔँ’ पदयात्रामा रहेका छन् ।
मुक्कुमलुङ पद यात्रा सुरु गरेका महतो अहिले आन्दोलनकारीसंगै आन्दोलनमा सहभागी भएका छन् । आन्दोलनको कार्यक्रममध्ये फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ घोषणा गरिएको छ । महतोले मुन्धुम सभ्यता, मुकुमलुङको न्यायको निम्ति पदयात्रामा निस्केको जनाएका छन् ।
केबलकार निर्माण सम्बन्धमा वार्तामा बोलाइरहनुको कुनै अर्थ नभएको उनको जिकिर छ । महतोले मुक्कुमलुङ बचाऔं अभियानमा जुट्न सबैसंग आग्रहसमेत गरेका छन् ।
टिप्पणीहरू: