बुधबार, २० जेठ २०८३

मेराे सम्पत्ति खरानी हाे सरकार,त्यही उठाएर लैजा : ओली


काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो सम्पत्ति विवरण मागेकोमा राेष व्यक्त गरेका छन्। 

बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले वर्तमान सरकार षड्यन्त्रको उपज भएको बताए। 

‘उनीहरू (सरकार)ले मेरो पनि सम्पत्ति विवरण मागेका छन्,’ ओलीले भने, ‘मेरो घर भदौ २४ गते आगो लगाइयो। मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण ।

उनले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताए।

‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं। अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ। जे जे गर्न सक्छ, गरोस्,’ ओलीले भने।

विपक्षीलाई फसाउन आयोग गठन गरिएको दाबी गरे। ‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो। प्रतिशोधको पोको हो,’ ओलीले भने, ‘देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो। यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ।’

साथै उनले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनले राष्ट्रपति पौडेल सरकारको ‘रबरस्ट्याम्प’ बनेको बताए । 

‘प्रधानमन्त्री बन्न संविधान चाहिएन । संविधान विपरीत प्रतिनिधिसभा भंग हुन्छ । अनि सम्मानीत राष्ट्रपतिजी भन्नुहुन्छ, बडो जुक्तिले लोकतन्त्र बचाएँ भनेर,’ ओलीले भने, । उनले बडो जुक्तिकै साथ एकपछि अर्को कदमबाट लोकतन्त्र सक्ने काम भइरहेको टिप्पणी पनि गरे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ