बुधबार, २८ माघ २०८२

मुसहर बस्तीका मतदाताकाे दुःखेसो- नेताको रङ फेरियो, बस्ती फेरिएन


जलेश्वर (महोत्तरी)। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक दलका नेताहरु जनताका घरदैलोमा पुग्न थालेका छन्।

विगत तीन वर्षमा एकपटक पनि नेता नपुगेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पनि यतिखेर नेताहरु पुग्न थालेको सो बस्तीका अगुवा अमृत सदाले बताए।

उनका अनुसार सधैँ बेलुका ७/८ बजे सुतिसक्ने यहाँका बासिन्दा अहिले राति १/२ बजेसम्म पनि जाग्राम बस्ने गरेका छन्। बस्तीमा दिनहुँजसो नेताहरुको चहलपहल बढ्न थालेपछि यहाँका मुसहरहरु रातिसम्म नै जाग्राम बस्न थालेका हुन्। 

पहिले पहिलेका चुनावमा जस्तै अहिले पनि यस मुसहर बस्तीमा नेताहरु पुगेर आश्वासन बाँड्न थालेको भए पनि यस बस्तीका बासिन्दामा नेताहरुले कुनै काम गरिदिने विश्वास भने छैन। उनीहरु पहिलेजस्तै नेताहरुको आश्वासन सुन्न मात्र भए पनि राजनीतिक दलका कार्यक्रमहरुमा सहभागी हुने र आफ्ना विगत लामो समयदेखिका पुरानै माग राख्ने गरेको उनीहरुको भनाइ छ।

‘विसं २०७९ को निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरुले आफू जितेपछि मुसहर समुदायका लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन बाँडेर चुनाव जितेका थिए। तर ती नेताहरु मुसहर बस्तीमा एकदिन पनि पुग्न सकेका छैनन्। अहिले मुसहर बस्तीका मतदाता नेताको रङ फेरियो, बस्ती फेरिएन भनेर दुःख व्यक्त गर्ने गर्दछन्’, अगुवा मुसहर अमृतले भने, ‘सबै चुनावमा लालपुर्जा बन्ने आशले नेतालाई भोट दिन्छु। तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपुर्जा बनाइदिएनन्। अब यसपालिको चुनावमा भने हामी निकै सोचविचार गरेर मात्र मत दिने योजना बनाएका छौँ।’

महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट मात्रै एक किलोमिटर दूरीमा रहेको खैरा गाउँका मुसहर समुदाय कुनै नेतालाई भेट्न जाँदा नेताहरु बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाज लिएर जाँदा पनि सहयोग नगर्ने गरेको अनुभव सुनाउँछन्।

बस्तीका ६३ वर्षीया मुसहर महिला तेतरी सदाले दुःखेसो गर्दै भनिन्, ‘मुसहरलाई आपत विपद् पर्दा पनि जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे। फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पनि पन्छिने गर्दथे।’ तर त्यही बस्तीमा अहिले नियमित नेताहरूको भिड लाग्न थालेको छ।

चुनावको मिति नजिकिँदै जाँदा अहिले दिनहुँ आएर नेताहरु फेरि आफूले आसन्न निर्वाचनमा मुसहरको मत पाएर जितेपछि समुदायमा विकासको लहर ल्याउने भाषण सुरु गरिसकेका छन्। मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ रहेको बस्तीका अर्का ७३ वर्षीया महिला सिलिया सदाले बताइन्।

जलेश्वर नगरपालिका–३ खैरा गाउँमा करिब ९० घर मुसहर समुदायको बस्ती छ। तर उनीहरुका लागि न शौचालयको व्यवस्था छ, नत खानेपानीकै सहजता। सिङ्गो बस्तीमा एक थान मात्रै खानेपानी पाइप (ह्याण्डपाइप) छ, भने प्रत्येक ८/१० घरमा एउटा शौचालय छ। त्यो पनि तीन वटा रिङ भएको। जुन एक/दुई महिनामै भरिन्छ। त्यसपछि वनमै शौच गर्ने बाध्यता रहने गरेको स्थानीय ४८ वर्षीया महिला सुकमरिया सदाले बताइन्।

सुकमरियाका अनुसार नेताहरुले सो बस्तीमा विकास गरिदिने आश्वासन बाँडेर प्रत्येक चुनावमा आफूहरु नेताको भाषण सुन्न जाने गरेको र भरोसा गरेर मत पनि दिने गरेको बताउँदै तर बस्तीमा खानेपानी, नाला र सडकको वर्षौंदेखिको आवश्यकता अहिले पनि यथावत् नै रहेको सुनाइन्। सबै चुनावमा घर बनाइदिने, खानेपानी पाइप, स्कुल, नाला लगायतका विकासको काम गरिदिने आशले नेतालाई भोट दिने गरे पनि अहिलेसम्म बन्न नसकेको स्थानीय लड्डु सदाले बताए।

भारतीय सीमासँग जोडिएको यो जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको सबै भन्दा गहिरो ठाउँ हो। वर्षात्का बेला घरघरमा पानी पस्छ। मुसहर बस्ती ऐलानी जमिनमा छ। ९० घरधुरी रहेको यो बस्तीमा करिब १७५ जनासँग नागरिकतासमेत छैन भने उनीहरु पुस्तौँ पुस्तादेखि यहीँ बस्दै आएका छन्।

बुबाको नागरिकता नभएकै कारण छोराछोरीको जन्मदर्ता नबन्दा यो बस्तीका बालबालिकालाई विद्यालय जान पनि समस्या छ। स्थानीय अर्जुन सदा भन्छन्, ‘बस्तीमा एउटा मात्र चापाकल (खानेपानी पाइप) छ। यसले नपुग्दा गर्मीमा पानीको हाहाकार हुन्छ। लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ। नाला नबन्दा वर्षात्मा उनीहरूको घर डुब्छ। त्यसैले हरेक निर्वाचनमा उनीहरूले यी माग अघि सार्छन् र बढी आश्वासन दिने नेतालाई मत दिन्छन्। तर, उनीहरूका माग अहिलेसम्म पूरा भएका छैनन्।’

खैरा गाउँभरि बिजुली बत्ती पुगे पनि गाउँमै रहेको मुसहरबस्ती वर्षौंदेखि अध्याँरो रहेको छ। गरिबी र विपन्नताले गर्दा कतिले बिजुली जडान नै गर्न सकेका छैनन् भने एक/दुई जनाले जडान गर्न चाहेपनि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मिटर पाउन सकेका छैनन्। गाउँमा बिजुली बत्ती छ, तर लालपुर्जा नभएकालाई विद्युत् कार्यालयले मिटर दिँदैन।

स्थानीय सिरिया सदाले भन्छन्, ‘मुसहर बस्ती अझै उस्तै छ। यहाँका सबै सधैँ अभावमा बाँचिरहेका छन्। यो बस्तीमा नेता चुनावका  बेलामा मात्रै आउँछन्। मत पाएपछि नेताको रङ फेरिन्छ। तर बस्तीको रङ फेरिँदैन। प्रत्येक निर्वाचनमा नेताले झुठो आश्वासन दिएर बस्तीको भोट बटुल्ने काम मात्रै गरेका छन्।’

नेपाल सरकारले देशलाई खुला दिसामुक्त घोषणासमेत गरिसकेको अवस्थामा यस बस्तीमा शौचालय नहुँदा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ। सबै नेताहरूले बस्तीमा सार्वजनिक शौचालय बनाइदिने आश्वासन दिए पनि कसैले पूरा नगरेको स्थानीय बिरु सदाको गुनासो छ। जमिनदारको जमिन उनीहरु अधियाँमा उनीहरु खेती गर्छन्। तर वर्षाका बेला खेत डुबानमा पर्छ। वर्षा नभएको बेला खडेरी लागेर बाली नष्ट हुन्छ। तर पनि यसको व्यवस्थापन गर्न तथा गरिबको भोको पेट भर्न कसैले पहल नगरिदिएको स्थानीय विमलेश सदाले गुनासो गरे। उनले भोट माग्ने बेला हामीले नै सबै गरिदिन्छौँ जस्तो गरेर नेताहरु बस्तीमा आउने गर्छन् तर कसैले सहयोग गर्दैनन् भने।

सो बस्ती जिल्लाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं ३ मा पर्दछ।  विसं २०७४ र २०७९ को निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा तत्कालीन लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए। गरिबीमा रहेको यस बस्तीका एक सय पाँच बालबालिकाको जन्मदर्ता बन्न पनि सकेको छैन। यसका लागि आफूहरु पटक–पटक वडा कार्यालय नगरपालिकाको कार्यालय र आफ्ना प्रदेश तथा सङ्घीय सांसदकोमा पुगेको भए पनि कतैबाट सहयोग नपाएको स्थानीय बिरजु सदाले दुखेसो पोखे।

जन्मदर्ताको अभावमा सो बस्तीका बालबालिका नेपाल सरकारबाट प्राप्त हुने पोषणभत्तासहित बालबालिकासँग सम्बन्धित अन्य सुविधा र निःशुल्क शिक्षाबाटसमेत बञ्चित रहेको जिबछी सदाले बताए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ यस क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३९ जनाले उम्मेदवारी दिएका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ