मङ्गलबार, ०४ कात्तिक २०८२

तीन लाख बढीले उपत्यका छाडे


काठमाडौँ । यही असोज ६ गते घटस्थापनाका दिनदेखि आजसम्म तीन लाख बढी उपत्यकाबाट बाहिरिएका छन् ।

शनिबारसम्म दुई लाख ६७ हजार ४४१ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका थिए। आइबार १२ बजेसम्म ५० हजार हाराहारी बाहिरिएका छन् ।

अध्ययन/अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौँ आएकाहरु दसैँ मान्नका लागि गाउँ फर्किने चलन छ ।

 नागरिक उपत्यका छोडेर गृहजिल्लातर्फ जान थालेपछि अहिले उपत्यकामा सवारी चाप क्रमिक रूपमा घट्दै गएको छ भने राजमार्गमा सवारी चाप बढ्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

 यही असोज ६ गते (घटस्थापना) का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४, असोज ८ गते ५७ हजार ५५९, असोज ९ गते ५६ हजार ९०६, असोज १० र ११ गतेसम्म ७२ हजार २३९ जनाभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छोडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले  जानकारी दिए।

 “काठमाडौँबाट बाहिरिनेको सङ्ख्या बढ्दो क्रममा छ । ठूलो सङ्ख्यामा नागरिक र सवारीसाधन बाहिरिन थालेपछि राजमार्गमा सवारी चाप बढ्दो छ ।” उनले भने ।  घटस्थापनाका दिनदेखि शनिबारसम्म काठमाडौँ उपत्यकाबाट ४५ हजार ४९३ सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।

  यसैगरी घटस्थापनाका दिनदेखि शनिबारसम्म काठमाडौँ उपत्यकामा ४१ हजार ५१४ वटा सवारीसाधन भित्रिएका छन् भने कूल एक लाख ५६ हजार ७८६ जना यात्रुहरू काठमाडौँ भित्रिएका प्रहरी उपरीक्षक सुवेदीले बताए । उनका अनुसार यो तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट गन्तव्यस्थलतर्फ  गएका र भित्रिएका यात्रुरूको हो । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ