- असार ०६, २०८०
ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताएका छन्।
गोरखापत्र संस्थानद्वारा बिहीबार आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिए।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ। निर्वाचनत उत्सव होइन, अब महोत्सव बन्दैछ।’
निर्वाचनका लागि सरकारले स्रोतसाधन र जनशक्तिको व्यवस्था गरेर तयारी गरिरहेको उनले जानकारी दिए। ‘मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको छ, सरकारले सबै तयारी गरिसकेको छ, निर्वाचन आयोगले पनि निरन्तर काम गरिरहेको छ। सबैजसो राजनीतिक दल निर्वाचनमा होमिएका छन्।’
सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने कार्यदिशा पूरा गर्न सक्रिय भएको उल्लेख गरे।
उनले तीन महिनामा ३० भन्दाबढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेका जानकारी दिँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको प्रष्ट पारे। मन्त्री खरेलले भने, ‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौँ।’
टिप्पणीहरू: