सोमबार, ०८ पुस २०८१

माओवादीलाई आफ्नै एजेण्डा र एकल प्रतिस्पर्धा जनादेश प्राप्त भएकाे छ : प्रचण्ड


काठमाडाैं, १८ मंसिर । भर्खरै सम्पन्न उप उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिष्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिने अध्यक्ष प्रचण्डले बताएका छन् । म‌ंगलबार विज्ञप्ती जारी गर्दै उनले भनेका छन् । 'यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिष्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिनेछ ।'

यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता पनि उनले जनाए । उनले आफ्नाे  पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दै। निर्वाचित सबै जनप्रतिनिधिहरुलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । 'निर्वाचनमा अहोरात्र खट्ने हाम्रो पार्टीका नेता कार्यकर्ता, हाम्रो पार्टीलाई मायाँ गरी जनमत निर्माणमा योगदान गर्ने सम्पूर्ण तह र तप्काका जनसमुदाय तथा निर्वाचन सफल पार्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन गर्दछु ।' विज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।   

आफ्नाे पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको भन्दै उनले आफ्नाे पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका बताए । 'निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।' उनले भनेका छन् ।

नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहजरुपमा जनताको घरदैलोमा पुर्याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा छ भन्दै प्रचण्डले आफ्नाे पार्टीले नेतृत्व गरेका स्थानीय तहहरुले उत्कृष्ट कार्य सम्पादन गर्दै आएकाे दावी गरे । 'आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर हाम्रा सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको छ ।' उनकाे भनाई छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ