- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवस नेपालीको ठुलो चाड र खुसीको दिन भएको बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै ओलीले बैशाख ११ निरङ्कुशता पराजय र लोकतन्त्रले जितेको दिन भएको बताए । त्यसैले यो दिनलाई उत्सवको रूपमा मनाउनु पर्ने उनकाे भनाई छ ।
निरङ्कुश व्यवस्थाको कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको उनकाे भनाई थियाे । त्यसका विरुद्ध अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको बताउदै अब देश युवाले बनाउनु पर्ने बताए ।
अहिले जनताको बलिदान र सङ्घर्षको अपमाना गर्ने र मजाक उडाने काम केही व्यक्ति र समूहले गरेका उनकाे भनाई थियाे । सामन्ती व्यवस्थालाई पुन फर्काउने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने काम गरिएको ओलीले सुनाए । ‘जङ्गली मात्र होइन राक्षसी प्रवृत्ति देखाउनेहरूले कस्तो शासन गर्न खोजेका छन् भन्ने प्रष्ट भएको छ’, ओलीले भने ।
आज युवालाई भड्काउने अनेक प्रयास भइरहेका भन्दै उनले केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देश भरका मानिसलाई भड्काउने प्रयास भएका बताए ।
लोकतन्त्रमा पनि केही गलत प्रवृत्ति देखाएका बताउँदै उनले त्यसबाट देश केही समय अलमलमा परेको बताए । एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्त्वहरू एमाले विरुद्ध खनिएका उनकाे भनाई थियाे ।
टिप्पणीहरू: