- असार ०६, २०८०
काठमाडौं, ५ मंसिर । सत्तारूढ प्रमुख दुई दलका शीर्ष नेताका बीचमा मंगलबार छलफल भएको छ । मन्त्रिपरिषद् हेरफेर, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसहित सरकार सञ्चालनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
छलफलमा नेपाल कम्युनिस्ट पार्टी (एमाले))का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र पार्टी उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापा छलफलमा सहभागी थिए। प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका बीचमा सोमबार पनि छलफल भएको थियो ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिने याेजनामा छन् । एमालेतर्फबाट सरकारमा सहभागी केही मन्त्रीको कामप्रति असन्तुष्ट प्रधानमन्त्री ओलीले उनीहरूसँगै कांग्रेसका समेत केहीलाई हटाउन खोजेका छन् । सोही विषयमा उनले कांग्रेस सभापति देउवासँग निरन्तर छलफल गरिरहेको कांग्रेस स्रोतको दाबी छ ।
ओलीसँग सोमबार छलफल गरेका देउवाले दुई महामन्त्री थापा र विश्वप्रकाश शर्मासँग समेत छलफल गरेका छन् । सोहीअनुसार देउवाले मंगलबारको छलफलमा थापालाई समेत सँगै लिएर बालुवाटार पुगेका हुन् ।
‘प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा छलफल हुनु त स्वाभाविक नै हो, मन्त्रिपरिषद् हेरफेर र अध्यादेश पनि महत्वपूर्ण विषय हो, केही मन्त्रीको कामबाट प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ, उनीहरूका ठाउँमा अरूलाई ल्याउनुपर्ने उहाँको कुरा छ, कांग्रेसकै केही मन्त्रीका कारण बदनामी भयो भन्ने गुनासो उहाँको छ,’ कांग्रेसका एक जना नेताले भने ।
तर, कांग्रेस सभापति देउवाले सरकार बनेको ६ महिना पनि नपुग्दै मन्त्रीहरू हटाउँदा राम्रो सन्देश नजाने भन्दै मन्त्रिपरिषद् पुनर्गठनमा आफ्नो दलबाट सहभागी मन्त्रीहरूलाई नचलाउन भनेका थिए । तर, केही मन्त्रीको कार्यशैली र विवादमा मुछिएका कारण पार्टीभित्रैबाट आलोचना भएपछि देउवाले पनि मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री ओलीलाई सहमति दिइसकेको स्रोतको दाबी छ ।
यस्तै, प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्नेलगायतको तयारी रहेको बताइएको छ । बीआरआईअन्तर्गत ऋण लिन हुने र नहुने दुईथरी मत छ ।
कांग्रेसका सांसदहरूले बीआरआईअन्तर्गत ऋण लिन नहुने र अनुदान मात्रै लिने नीति सरकारले लिनुपर्नेमा जोड दिँदै आएका छन् । एमाले त्यसमा हस्ताक्षर गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा रहेको छ । नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहा होस् भन्नुपर्नेमा एमाले र कांग्रेसको एकमत छ ।
कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक लम्बिने भएपछि प्रधानमन्त्री ओलीले मंगलबार साँझ ६ बजे बस्नेगरी बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । अर्को बैठक बिहीबार बस्ने बताइएको छ ।
टिप्पणीहरू: