- असार ०६, २०८०
काठमाडौँ, १९ मंसिर । अमेरिकाको भर्जिनियामा बस्दै आएकी नेपाली मूलकी ममता काफ्लेको हत्या गरेको आरोपमा उनका श्रीमान् नरेश भट्टविरुद्ध अभियोग दर्ता हुने भएको छ ।
गत जुलाईदेखि बेपत्ता काफ्लेको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले नरेशविरुद्ध श्रीमतीको हत्या गरेर शव लुकाएको अभियोगमा मुद्दा दर्ता गर्न लागेको हो । मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समयअनुसार सोमबार साँझ पत्रकार सम्मेलन गर्दै ममताको घरमा भेटिएको डीएनए रिपोर्ट सार्वजनिक गरेका छन् । उनका अनुसार भट्टको सुत्ने कोठामा भेटिएको रगत ममताको नै भएको र जुलाई २९ मा नै उनको हत्या भएको प्रमाण पाइएको छ ।
यसअघि अदालतमा पेस गरिएको तस्बिरमा कोठाभित्रको कार्पेट र बाथरुममा रगतका टाटा देखिएका थिए । नरेश भूतपूर्व अमेरिकी सैनिक हुन् । उनलाई अब अदालतमा पेस गरिने र यही समयमा उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गर्ने तयारी भइरहेको समाचार एजेन्सी सीएनएनले जनाएको छ । ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अहिलेसम्म भेटिएको छैन । शवको खोजी जारी रहेको तर नभेटिए पनि अनुसन्धानमा असर नपर्ने लुगोले बताएका छन् । नरेश हाल अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् । उनीहरुको एक बच्चा पनि छन् । बच्चा अमेरिकाकै एक संस्थाको निगरानीमा राखिएको छ
टिप्पणीहरू: