- असार ०६, २०८०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने र स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको स्पष्टीकरण दिएका छन्।
ऊर्जामन्त्रालयले मंगलबार पदबाट किन नहटाउने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेकोमा बिहीबार त्यसको जवाफ दिँदै कुलमानले स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको जवाफ दिएका हुन्।
‘निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची -१ को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु’ उनले स्पष्टीकरण पत्रमा भनेका छन्।
विद्युत जस्तो अत्यावश्यक सेवा सञ्चालन गर्ने दायित्व बोकेको प्राधिकरणको कार्यकारी निर्देशकले विधिसम्मतरुपमा उल्लेखित लक्ष्य र प्रगति हासिल गरिरहेकै अवस्थामा सो कार्यलाई थप टेवा र मद्दत पुग्ने गरी मन्त्रालयबाट आवश्यक सहयोग, समर्थन, प्रोत्साहन र हौसला प्रदान गर्नुपर्नेमा उल्टै स-साना विषय उठान गरी असजिलो पारी मानमर्दन र हतोत्साही गराउने गरी पटक पटक स्पष्टिकरण सोध्ने जस्तो कार्य गरिएको पनि उनले प्रष्टिकरणमा लेखेका छन् ।
टिप्पणीहरू: