सोमबार, ०८ पुस २०८१

मुख्यमन्त्री भन्छन्, अब सुविधा खोज्दै शहर पस्ने दिन सकियाे


अर्घाखाँची, २२ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारलगायत विकास पूर्वाधार गाउँ केन्द्रित भइरहेकाले सुविधाका लागि सहर पसेकाहरूलाई ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन् । 

आज मालारानी गाउँपालिका–२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सव उद्घाटन गर्दै उनले तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधा पु-याइरहेका सन्दर्भमा अब यस्तो अभियान जरूरी रहेको बताएका हुन्। “हामिले गाउँमा विकास र सुविधा पु-यायौँ । त्यही सुविधाका लागि सहर पसेकाहरू गाउँ फर्कन आवश्यक छ”, मुख्यमन्त्री आचार्यले भने “अब राम्रो स्कुलमा पढाउनकै लागि घरमा ताला लगाएर सहर पस्नुपर्ने अवस्था छैन । रोजगारी सिर्जनाका लागि पनि अब गाउँ फर्किएर उद्यम गर्न सकिन्छ । त्यो अवसर विकास भएको छ ।” 

उनले राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाले यस अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । “राजनीतिक दलका कार्यकर्ता पनि अब उद्यमशील बन्नुपर्छ । व्यावसायिक बनेमा स्विदेशमै राम्रो कमाई गर्न सकिन्छ भन्ने सन्देश फैलाउन पनि उत्पादनसँग जोडिनै पर्छ”, मुख्यमन्त्री आचार्यको भनाइ थियो । 

यसैगरी उनले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर गुणस्तर सुधार्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताए । “गुणस्तरीय शिक्षा र नतिजा सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हँुदैन । यसमा शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालयय व्यवस्थापन पक्ष, जनप्रतिनिधि सबै साझा रूपमा अघि बढ्न सक्नुपर्छ । गत वर्षको एसइई नजिता सन्तोषजनक भएन । यसपालिको नजिता सुधार गर्न सबै चिन्तित र संवेदनशील बन्नै पर्छ”, मुख्यमन्त्री आचार्यले भने।  

कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पु-याउने विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ