शुक्रबार, १९ मंसिर २०८२

मधेशका मुख्यमन्त्री पदमुक्त हुन सक्ने


काठमाडाैं ।   सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि मधेश प्रदेशमा राजनीतिक सारगर्मी बढेकाे छ ।

मुख्यमन्त्री  सराेज यादवको नियुक्तिविरुद्ध परेको रिटमा  सुनुवाइ गरेपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेको इजलासले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन प्रदेश प्रमुखको नाममा परमादे‍श जारी गरेको थियो।  यदि यादवले विश्वासकाे मत नपाएमा उनी स्वत पदमुक्त हुनेछन् ।

यादवलाई मुख्यमन्त्री नियुक्त गर्दा पदअनुकूल आचरण नगरेको आरोप लागेका मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल  पदमुक्त भइसकेका छन् । पछिल्लाे राजनीतिक अवस्था हेर्दा विश्वासकाे मत पाउने सम्भावना देखिँदैन ।

सर्वोच्चले यदि यादवले प्रदेश सभामा विश्वासको मत नपाए यसअघि नै प्रदेश सभाका ७३ जना सदस्यले भनेअनुसार संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठन प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ।

 तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले नेता यादवलाई ठूलो दलको हैसियतमा रातारात मुख्यमन्त्री नियुक्त गरेपछि एमाले बाहेकका सात दल उनको नियुक्तिविरुद्ध अदालत गएका थिए। यादवलाई तत्कालिन प्रदेश प्रमुखले हाेटलमा सुटुक्क सपथ गराएकी थिइन् ।

मुख्यमन्त्री नियुक्ति प्रकरणमा पदअनुकूल आचरण नगरेको आरोप लागेपछि प्रदेश प्रमुख भण्डारीलाई सरकारले तत्कालै बर्खास्त गरेको थियो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ