- असार ०६, २०८०
काठमाडाैँ। आज १८औँ गणतन्त्र दिवस । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाबिहानै स्वदेशदेखि विदेशसम्म रहेका नेपाली जनतालाई सम्बोधन गरेर शुभकामना व्यक्त गरे। राष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, ठाउँठाउँका मुख्यमन्त्रीलगायतले सामाजिक सञ्जालको प्रयोग गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
संविधान दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसहरुमा यसैगरी ‘ठूला बडा’हरुले शुभकामना सन्देश प्रवाह गर्ने रित छ र यो स्वभाविक पनि हो।
विगतका वर्षहरुका तुलनामा यसपालीको गणतन्त्र दिवसको दृश्य अलिक फरक छ। हिजो गणतन्त्र विरोधीहरु मौन भाषामा आपसमा कुरा गर्थे। यसपाली गणतन्त्रवादीलाई चुनौती दिँदै सडकमै प्रदर्शन सुरु गरेका छन्।
२०४६ मा बहुदलीय प्रजातन्त्र पुर्नस्थापना भएपछि ‘हाम्रो दिन सकियो’ भन्दै दुलो पसेका प्रजातन्त्र विरोधी तत्वहरुको आवाज यति चर्को हुनुको कारण केबल उनीहरुको आत्मबल मात्रै होइन, गणतन्त्रका लागि लडेका पात्रहरुले गणतन्त्रका आडमा गरेको जघन्य अपराध मुल कारण हो। हिजो पारस शाहको गाडीले ठक्कर दिएर प्रविण गुरुङको हत्या हुँदा प्रहरीले जाहेरीसमेत लिन नमानेको घटना सम्झँदै राजतन्त्रप्रति धारे हात लगाउने पुस्तालाई आज आफताव आलमहरुले गिज्याइरहेका छन्।
इँट्टा भट्टामा ज्युँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेकाहरु कानुनी छिद्रको उपयोग गर्दै जेलको ढोकाबाट फूलमालासहित बाहिरिएको घटनाले ‘गणतन्त्र ठिक छैन’ भन्नेहरुलाई त आनन्दित बनाएको छ नै, ‘गणतन्त्रको विकल्प छैन’ भन्नेहरुलाई लज्जित तुल्याएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर जग्गा घोटाला, भिजिट भिसा प्रकरण गणतन्त्रको नाकैमा लागेको एउटा दाग हो र अहिलेकै नेतृत्वले यो दाग मेट्ने सम्भावना देखिँदैन। सुशासनलाई प्रमुख एजेण्डा बनाएर सुरु भएको कांग्रेस-एमाले गठबन्धनको पछिल्लो १० महिनाको व्यवहार हेरेर नेपाली जनताले आश गर्ने ठाउँ लगभग मारिसकेका छन् ।
यसको अर्थ यो होइन कि सधैँ यस्तै भइरहन्छ। नागरिकहरुमा अहिले बढेको निराशा गणतन्त्रको कारण होइन, गणतन्त्रमा शासन गर्ने व्यक्तिको प्रवृत्तिले हो। सत्तामा रहेका केही व्यक्ति खराब भए भन्दैमा हौसिएका गणतन्त्र विरोधीहरुलाई पनि हेक्का हुन जरुरी छ- हिजो शक्तिशाली राजालाई घुँडा टेकाएर गणतन्त्र ल्याउन सक्नेहरु गणतन्त्रको धज्जी उडाउने नेतृत्वलाई पनि पाखा लगाउन सक्षम छन्। शेरबहादुर देउवा वा केपी शर्मा ओली खराब हुन सक्छन् । उनीहरु बिग्रिए भन्दैमा ज्ञानेन्द्र शाह प्रवृत्तीलाई राम्राे मान्न सकिँदैन । विकल्पमा गगन थापा वा महेश वर्ताैलाहरु छँदैछन् ।
कांग्रेस हुँदैमा सबै कृष्णप्रसाद भट्टराईजस्तै वा एमाले हुँदैमा सबै मनमोहन अधिकारीजस्तै हुन्छन् भन्ने छैन। भट्टराई वा अधिकारीजस्तै भएनन् भन्दैमा कांग्रेस वा एमाले पार्टी नै खराब भयो भन्न मिल्दैन। न्यायलयको हकमा पनि त्यही नै हो। कतिपय श्रीमानहरुले ‘म्यारिजलाई जुवा होइन, दिमागको खेल हो’ भनेर गरेको व्याख्या सुनिसकेकाले आफतावहरुलाई निर्दोष देखे भन्दैमा आश्चर्य नमाने हुन्छ। किनकी २०१३ सालमै कवि गोपालप्रसाद रिमालले ‘आमाको सपना’ शीर्षकमा उद्घोष गरिसकेका छन् ।
टिप्पणीहरू: