सोमबार, ०८ भदौ २०८३

जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न सांसदहरुको माग


काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

सभाको आजको शून्य समयमा सांसदहरुले आगामी दिनमा त्यसखाले घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, जनचेतना अभिवृद्धि गर्न र अपराधिक घटनामा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्न सरकारलाई सुझाव दिए । 

सांसद अनुश्का श्रेष्ठले बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्ने व्यवस्था मिलाउन माग गरिन् । सांसद अफ्साना बानुले संविधान संशोधन गरेरै भए पनि जघन्य अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन् । 

सांसद डा अमरेशकुमार सिंहले अराजकता, अस्थिरता, हत्याहिंसा र बलात्कारको घटना नियन्त्रण गर्न सरकार गम्भीर ढङ्गले प्रस्तुत हुनुपर्ने बताए । सांसद अरविन्द साहले मधेस प्रदेशका केही जिल्लामा आपराधिक घटना वृद्धि भएको जनाउँदै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गरे ।

सांसद आकृति अवस्थीले कार्यालय, सार्वजनिक यातायात, विद्यालय, समुदाय तथा घरभित्र महिला सुरक्षित हुने अवस्था सुनिश्चित गर्न माग गरिन् । सांसद आशिका तामाङले बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीको कानुनी व्यवस्था नभएसम्म समाजबाट यस्ता घटना न्यून नहुने धारणा राखिन् । 

सांसद एलिजा गुरुङले बालयौन हिंसा रोक्न विद्यालयस्तरमै उचित शिक्षा दिनुपर्नेमा जोड दिइन् । सांसद कन्हैया बनियाले आपराधिक घटना न्यूनीकरण गर्न कडा कानुनी कारबाहीको व्यवस्था गर्न माग गरिन् । 

सांसद क्रान्तिशिखा धितालले घरेलु हिंसा, यौन दुव्र्यवहार र बाल हिंसाका प्रारम्भिक उजुरीलाई प्राथमिकता दिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद खगेन्द्र सुनारले बलात्कार र हत्यालगायत जघन्य अपराध रोक्न कडा कानुनी कारबाहीको व्यवस्था गर्न माग गरे । सांसद गीताकुमारी सेन्दाङले महिला र बालिकामाथिको हिंसाको घटना दोहोरिन नदिन कडा कानुनी व्यवस्था गर्न माग गरिन् । सांसद गुरुप्रसाद बरालले जघन्य अपराध रोक्न सुरक्षा व्यवस्था मजबुद बनाउन सरकारलाई सुझाव दिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ