- फागुन ०७, २०८१
काठमाडाैं । ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत् बक्याैता उठाउने काममा सफलता मिलेकामा सबैलाई धन्यवाद दिएका छन् । उनले विगतमा बक्यौता उठाउन खोज्दा हटाइएको र अहिले बक्यौता उठाउने ठाउँमा रहेकाले सबैको प्रयासमा बक्यौता उठाइएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले बिहीबार बिहान लेखेका छन्, ‘डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ । यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ ।’
यस्ताे छ उनकाे स्टाटस
विगतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ ।
यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको थियो । अवस्था यस्तोसम्ममा पुगेको थियो कि राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए । तर, सबैको निरन्तर चासो, निगरानी र खबरदारी कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ ।
हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधकासाथ बक्यौता रकमको किस्ता तिर्न सुरु गर्नुभएका सम्पूर्ण उद्योगी साथीहरूलाई हार्दिक धन्यवाद । साथै, बक्यौता असुलीमा आवश्यक सहयोग, समन्वय र सहजीकरण प्रदान गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीज्यू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहित सम्पूर्ण पदाधिकारीज्यूहरुलगायत सबैप्रति हार्दिक आभार ।
टिप्पणीहरू: