बिहिबार, २१ चैत २०८१

‘बा’ भो पुग्यो, अब आराम गर्नुस्


प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा लाग्छ– अहिले जस्तो ठिकठाक कहिल्यै थिएन । प्रधानमन्त्रीकै शब्द सापटी लिएर भन्ने हो भने– कांग्रेस र एमाले मिलेर बनेको सरकारले मुलुकमा सुशासन ल्याउनका लागि व्यापक काम गरेको छ । संविधान संशोधनका विषयमा प्रक्रिया सुरु भैसक्यो । मन्त्रीहरु देश बनाउन दौडेको दौड्यै छन् । उपलब्धि त कति हो कति ।

केपी ओली यो मुलुकका कार्यकारी प्रधानमन्त्री, नेकपा एमालेका अध्यक्ष अनि एकथरी एमाले कार्यकर्ताका ‘बा’ । भन्न त सबैको  ‘बा’ हुँ भनेर दाबी गर्नुहुन्छ व्यवहारमा त्यस्तो देखिँदैनन् । एमाले भित्रको एउटा गुटको चाँहि ‘बा’ नै हो । यसकारण पनि उहाँका सहकर्मी शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको तुनलामा चर्चा अलि बढी हुन्छ । देउवा बोल्दै बोल्दैनन् । प्रचण्ड बोल्दा बोल्दै धेरै बोल्छन् । ओली बोल्ने मात्रै होइनन्, छोराछोरीलाई सम्बोधन गरेर बेला बेलामा लेखसमेत लेख्नुहुन्छ ।

केही महिना पहिले  एउटा दैनिक पत्रिकामा ‘जराको आकार र पखेटाको यात्रा’ शीर्षकमा उहाँले अन्तेयसको कथाबाट सुरु गर्नु भएको थियो । र मान्छे अन्तेयसजस्तै हुनुपर्ने, हक्र्युलिसजस्तो हुन नहुने कुरा गर्नु भएको थियो । अन्य लेखमार्फत पनि ‘राम्रो मान्छे’ बन भनेर सन्देश दिइरहनु हुन्छ । तर, उहाँका कतिपय व्यवहार हेर्दा म आफैं चाहिँ अन्यौलमा हुन्छु– ओली अन्तेयसजस्ता हुन् कि हक्र्युलिसजस्ता ।

नारायणी किनारमा उभ्याइएका ‘बा’ का बडे बडे स्ट्याचुमा सेल्फी खिच्न भन्दै मान्छेहरु लाइन लागेको देखेपछि ‘बा’लाई लाग्यो । प्रजातन्त्रका लागि १८ वर्ष जेल बसेका नरेश खरेलहरुभन्दा चरेशको थालमा मार्सी चामलको भात खुवाएका दुर्गा प्रसाईं होनाहार छन् ।

अहिले लोकतान्त्रिक व्यवस्थाविरूद्ध धावा बोलिरहेका दुर्गा प्रसाईंसँग उहाँको चार वर्षअघिको हिमचिम सम्झिँदा चाहिँ ‘केपी बा’ आफैं हक्र्युलिसजस्तो लाग्छ । ‘बा’ गुनासो गर्नुहुन्छ– मजस्तो मान्छेका बारेमा मान्छेहरुले राम्रो कुरा गरेनन् । प्रतिष्ठामा आँच पु¥याए । ‘बा’ जति गुनासो गर्नुहुन्छ, उतिउति उछित्तो काढ्नेहरु बढेका छन् । हुँदाहुँदा अहिले त बालाई कुनै सार्वजनिक कार्यक्रममा देख्यो कि एकथरी केटाहरु ‘बा’ कै भाषामा भन्दा उरन्ठेउलाहरु ‘केपी चोर देश छोड्’ भन्दै नारा लाउँछन् ।

‘बा’को गुनासो र ‘बा’ विरूद्धका नारा दुबै अतिवाद हो भन्ने लाग्छ । अहिले व्यवस्थै फेर्छु भनेर लागेका दुर्गा प्रसाईं र बाको सम्बन्धबारे चर्चा गरेन भने ‘बा’माथि अन्याय हुन्छ ।

‘बा’लाई म स्मरण गराउन चाहन्छु– चितवनमा भएको १०औँ महाधिवेशनको सन्दर्भ । माधवकुमार नेपाल र झलनाथ खनालको नेकपा एकीकृत समाजवादी नामको खुद्रा दोकान सुरु भइसकेपछि भएको थियो एमालेको १०औं महाधिवेशन ।

सच्चा एमाले कार्यकर्ताका लागि वास्तवमै विशेष महाधिवेशन थियो त्यो । एमालेमै लागेर म केही गर्छु भन्नेहरुले महाधिवेशनलाई भव्य बनाउन कुनै कसर बाँकी राखेनन् । ऐतिहासिक जमघट भयो । सिंगै चितवन एमाले कार्याकर्ताले भरियो । एक लाख बढी एमालेका शुभचिन्तक एमाले पार्टी कमजोर नरहेको सन्देश दिन चितवन पुगे । भिड देखेर आल्हादित भएका ‘बा’लाई लाग्यो– ‘यी सब मलाई देखेर आएका हुन् ।’ ‘बा’ ले भीडमा कार्यकर्ता कम चाकरहरु धेरै देख्नु भो ।

कसलाई कुन पदमा उम्मेदवार बनाउने, कसलाई उठ्न दिने, कसलाई नदिने ‘बा’को एकल निर्णय हाभी भयो । नारायणी किनारमा उभ्याइएका ‘बा’ का बडे बडे स्ट्याचुमा सेल्फी खिच्न भन्दै मान्छेहरु लाइन लागेको देखेपछि ‘बा’लाई लाग्यो । प्रजातन्त्रका लागि १८ वर्ष जेल बसेका नरेश खरेलहरुभन्दा चरेशको थालमा मार्सी चामलको भात खुवाएका दुर्गा प्रसाईं होनाहार छन् । ‘बा’ कै कृपाले प्रसाईले मार्सि खाना सेटको बदलामा केन्द्रिय सदस्य पद पाए ।

त्यहीबेलामा पनि ‘यो गलत भो, यस्तो गर्नहुन्न’ भनेर ‘बा’का पार्टीका केही मान्छे सानो स्वरमा नभनेको होइनन् । ‘दुर्गा प्रसाईं हुन्न’ भन्नेलाई ‘बा’ले देखे र आँखा तरे । कार्यकर्ता न हुन् ‘बा’ को भाव बुझि हाले लाइनमा अगाडी बस्नेहरुले ‘प्रसाई ठिक छ’ भन्दै ताली पिटे । अलि पछि बस्नेहरुलाई लाग्यो– ‘बा’ को छेउमा बस्नेहरुले ताली बजाए , अब हामीले पनि बजाउने बेला भयो भनेर पररर... ताली बजाए । ‘बा’ मख्ख ।

‘कपी बा’ आफूलाई ‘राष्ट्रिय बा’ भन्ठान्नुहुन्छ तर, छोराछोरी र नातिनातिनाले गल्ती कमजोरी औँल्याइदिँदा पटक्कै निको मान्नुहुन्न । तपाईंले भनेका सप्पै कुरा गज्जब हो भन्नेलाई काखमै लुटपुट्याइरहनुहुन्छ । जब तपाईंले गलत गरेको कुरालाई गतल हो, गलत थियो भन्छन् नि, तिनलाई भित्तैमा पु-याइदिनुहुन्छ । 'बा' दुर्गा प्रसाईलाई केन्द्रिय सदस्य । तपाइले पार्टीका लागि गरेकाे एउटा 'अपराध' हाे । खै आत्मालाेचना । मनलागि गर्ने अनि 'मेराे मान मर्दन गरे' भन्दै गुनासाे गर्ने मान्छेका 'बा' हुन सक्दैनन् ।

तपाईंलाई पक्कै थाहा होला हरेक सन्तानको विचार, सोच फरक फरक हुन्छ । कोही थोरै खाएर पनि अघाउँछ, कोही धेरै खाएर पनि पुगेन भन्छ । कोही धेरै चकचक गर्छ । केही खेल्नै मान्दैन । कोही खेलेको खेल्यै गर्न खोज्छ । तर, बा ती आफ्ना सन्तानका आनीबानीबारे जानकार मात्रै हुँदैनन्, उनीहरुको रुचिअनुसार जिम्मेवारी दिन्छन् र उनीहरुलाई सन्तुष्ट पार्छन्, तब न ‘बा’ले नेतृत्व गरेको घरमा खुसी छाउँछ ।

खै, तपाईंको घर (पार्टी) मा त्यस्तो देखिँदैन । मेरो आँखा उस्तो हो कि तपाईंको व्यवहार ? गत भदौ ११ र १२ गते आएको अबिरल वर्षासँगैको बाढीले करिब १७ अर्ब भन्दा बढीको क्षति भयो ।  आएको बाढीले देश तहस नहस भो । २४ जिल्ला प्रभावित भएको उक्त प्राकृतिक विपत्तिमा २२४ जनाको मृत्यु भयो २४ जना अझै बेपत्ता छन् । सिंगै देश शोकमा हुँदा तपाई अमेरिका हुनुहुन्थ्यो । जब नेपाल फर्किनु भो ‘भ्रमण किन नछोट्याउनु भएको ? भन्ने प्रश्न तपाईलाई पटक्कै मन परेन ठसक्क पर्दै जवाफ दिनु भो ‘यो बाढी पहिरो मैले गर्दा आको हो र ?’

बाढी पहिरोले प्रताडितहरु छेउछाउमा टहरो बनाउदै नयाँ जीवन खोजी गर्दै थिए । त्यहि पहिरोको प्रभाव तपाईको पार्टी अफिसमा पनि परेको थियो । खासाको सामानमा ब्राण्डेड स्टिकर टाँसेर बिक्री गर्दै आएका व्यापारी मिनबहादुर गुरुङ आए र तपाइलाई भने ‘म तपाईको पार्टीका लागि एउटा दरबार बनाइदिन्छु ।’ 

यदि तपाईको नियतमा खोट थिएन भने भन्न सक्नु हुन्थ्यो । मेरो पार्टीका लागि दरबार नभए पनि फरक पर्दैन । बाढी पहिरो पीडितका लागि एउटा वस्ती बनाइदिनुस्, पुल बनाइदिनुस्, सडक बनाइदिनुस् । सार्वजनिक हितका लागि कुनै पनि पूर्वाधार बनाउन आग्रह गर्न सक्नु हुन्थ्यो । तर, त्यसो गर्नु भएन । दान लिने जस्तो विषयमा कसैसँग सल्लाह गर्नु समेत उचित ठान्नुभएन । एकैचोटी साधकको भेषमा जग पूजामा जग पूजामा प्रकट हुनु भो । जब तपाईं जग पूजा सकेर मीनबहादुरले किनिदिएको लड्डु बोकेर घर पुग्नुभयो, पहिल्यै होहल्ला भैसकेको थियो– ‘बा’ ले खराब मान्छेसँग दान लिन लागे । यो दान उचित हो कि हैन, दान लिने याम हो कि हैन ? आदि विषयमा तपाईंको घरमा मात्रै हैन, छिमेकीका घरमा समेत चियो चर्चा भैसकेको थियो ।

 ‘बा’ तपाइलाई लागेको होला । मीनबहादुरले बनाइदिएको अग्लो घरको माथिल्लो चोटामा ठूलो बोर्ड राखेपछि पार्टी पनि त्यहि घर जस्तै अग्लो हुन्छ । त्यस्तो हुँदैन । यो दान तपाईका पार्टीका लागि ‘ग्रहण दान’ भैसक्यो । यो दानको मूल्य तपाईको पार्टीका लागि यति भारी पर्ने छ ।

सँधै तपाईको छेउछाउमा बस्ने छोरा, भतिजाहरुलाई थाहा थियो तपाईंको बानी । ‘बा’ले बेठिक गरेको भए पनि बेठिक गरे भन्ने हुति थिएन । तिनलाई लागेको छ ‘बा’को चाकडी ग-यो भने शेखपछि झिटी गतिलो पाइन्छ । त्यही कारण पनि हत्तपती ‘बा’ले गलत गर्दा गलत गर्नुभो भन्दैनन् । ङिच्च पर्दै ‘बा’को कुरामा हामी बोल्दैनम भन्छन् । खासमा भन्ने हो भने ‘बा’ तपाईंका छेउछाउमा बस्नेहरु गतिला भएनन् । 

दुईटी छोरी (बिन्दा पाण्डे र उषाकिरण तिमल्सिना) छुच्चो मुखमा प्रकट भए । फ्याट्टै भनिहाले– ‘बाले गर्न नहुने काम गर्नुभयो ।’

बदलामा तपाईंले के गर्नुभयो छोरीचेलीलाई, ‘माइती नआएपनि नआउन्’ भन्ने आशयको अभिव्यक्ति दिँदै कार्बाहीको चिट्ठी लेख्न फर्मान जारी गर्न आदेश दिनु भो । छोरी पनि के कम आन्दोलनबाट खारिएका न परे, ‘हाम्रो माइती आउनजान कसैलाई सोधिरहन पर्दैन’ आशयका जवाफ फर्काए ।

तपाईले छ महिनाका लागि निलम्बनै गरिदिनु भो । ‘बा’ तपाइलाई लागेको होला । मीनबहादुरले बनाइदिएको अग्लो घरको माथिल्लो चोटामा ठूलो बोर्ड राखेपछि पार्टी पनि त्यहि घर जस्तै अग्लो हुन्छ । त्यस्तो हुँदैन । यो दान तपाईका पार्टीका लागि ‘ग्रहण दान’ भैसक्यो । यो दानको मूल्य तपाईको पार्टीका लागि यति भारी पर्ने छ । तेस्रो पुस्ताका नेता समेतलाई यसैले पिरोलिरहने छ । ‘बा’ तपाईंले लेखमार्फत गुनासो गर्दै भन्नुहुन्छ– ‘तिमीहरूको मनमा मेराबारेमा घृणा फैलाउने प्रयास गरिँदैछ ।’ एउटा कुरा आत्मादेखि भन्नुस् त ‘बा’– अदालतमा मुद्दा चलिरहेको मान्छेसँग दान लिनु राम्रो हो र ? तपाईंका छोराछोरीले विवादास्पद व्यक्तिसँग दान लिनु राम्रो हो भन्ने बुझे भने समाज के होला । कस्तो बन्ला । मूल्य मान्यता, परम्परा, सभ्यताको कुरा पनि गर्नुहुन्छ । ल भन्नुस् त ‘बा’– जसले जे दिन्छ, हात थाप्दै हिँड्ने हाम्रो परम्परा होर ? हाम्रा पूर्खाहरुले ‘बद्मास’ कहलिएका व्यक्तिले दिएका दान दक्षिणा लिँदै हिँडेका थिए र ? अर्को कुरा भोलि दुर्गा प्रसाईंलाई जस्तै मीनबहादुरलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने थिति आयो भने तपाईंलाई हामीले को जस्तो मान्ने अन्तेयस कि हक्र्युलिस ?

यो मुलुकका लागि तपाईंले गर्नुभएको योगदान अथाह छ । कतिपय बिर्सनै नसकिने गुन लगाउनुभएको छ । कतिपय सम्झेर बिर्सन पर्ने काम पनि गर्नुभएको छ । प्रजातन्त्र ल्याउनका लागि १४ वर्ष जेल बस्नुभो । हुन त तपाईंलाई प्रश्न त्यति मन पर्दैन । मैले साधेँ– ‘तपाईं १४ वर्ष जेल बसेको ७० वर्षको उमेरमा मीनबहादुर गुरुङसँग दान लिनका लागि हो त ? पटक–पटक भएको राजनीतिक आन्दोलनमा तपाईंको भूमिका नभएको होइन । प्रजातन्त्र ल्याउनुभयो । राजाले खोसे । फेरि आन्दोलन गर्नुभयो । सात दलको संयुक्त प्रयासमा सडकबाटै संसद पुर्नस्थापना गर्नुभयो । राजतन्त्र गयो, गणतन्त्र आयो । तपाईंलगायत सबै दलका नेताले एकै स्वरमा भन्नुभयो ‘अब नयाँ नेपाल बन्नेभो ।’

चुच्चे रेल, पानी जहाज, के के हो के के । पहिलो पटक प्रधानमन्त्री बन्दा  तपाईंले गज्जबको सपना देखाउनुभयो । तपाईंको उत्साह देखेरै हो नेपाली जनताले बहुमत दिए । दुई तिहाई सांसदको समर्थनमा प्रधानमन्त्री हुनुभो । खै किन हो तपाईंलाई त्यही संसद मन परेन र विघटन गरिदिनुभो । त्यो पनि दुईदुई पटक ।

सम्झनुस् त तपाईंले के गर्नुभएन । माओवादी अध्यक्ष प्रचण्डसँग अंगालो मार्नुभयो, सारा नेपाली छक्कै परे । उनकै समर्थनमा प्रधानमन्त्री बन्नुभयो । कुरा मिलेन । बोलचालै बन्द गरेर बस्नुभयो । फेरि पुरानै उपक्रम दोहोरियो । खुमलटारमा घाम तापिरहेको प्रचण्डलाई बालकोटको बार्दलीमा लगेर ‘बैगुनीलाई गुनले मार्नपर्छ’ भन्दै बुईमा बोक्नुभो । राष्ट्रपति छान्ने विषयमा कुरा मिलेन च्यात्तै छोड्दिनुभो । तपाईंको दोस्त शेरबहादुर देउवा काँध कतिबेला थाप्न पाइएला भनेर बसेका थिए । पालो आयो थापे । देउवा र प्रचण्डबीच आलोपालो काँध थाप्ने र बुई चढ्ने कुरा हुँदै थियो, बिचमा तपाईं आउनुभो । अहिले देउवाको बुईमा तपाईं हुनुहुन्छ । डेढ वर्ष उनलाई काँध थाप्ने सर्तमा ।

काँध चढ्ने र थाप्ने । यो पनि राजनीतिक परिदृष्यमा देखिने नियमित क्रिया नै हो । यसलाई आश्चर्य भयो भन्न जरुरी छैन । बनाउने, बिगार्ने, फेरि बनाउने फेरि बिगार्ने नेपाली राजनीतिमा यो नियमित प्रकृया हो । एकछिन सोच्नुस् त ‘बा’, तपाईंले अब गर्न बाँकी के छ ? चार पटक प्रधानमन्त्री भैसक्नुभयो । पार्टी अध्यक्ष पनि दुई पटक । पहिला पहिला तपाईंका पार्टीका जनसंगठनहरुमा निर्वाचनमार्फत नेतृत्व चुनिन्थ्यो । अहिले तपाईं भित्तामा टाँस्न निर्देशन दिनुहुन्छ । कार्यकर्ताहरु उम्मेदवार हुन पाउँ म हार्न चाहन्छु भन्दा हार्ने अवसर समेत दिनु हुन्न भने तपाईले देश बनाउनु हुन्छ भनेर कसरी विश्वास गर्ने ?

‘बा’ तपाईं त मान्नुहुन्न । एमाले भन्ने पार्टी इतिहासमै सबैभन्दा कमजोर बनेको छ अहिले । बालकोट होस् या बालुवाटर तपाईं प्राय बार्दलीमै हुनुहुन्छ । भुइँका कुरा थाहा पाउनुहुन्न । गाउँमा अहिले पनि तिनै मान्छे छन्, जो पञ्चायतकालमा एमालेका लागि पञ्चसँग भिडे, बहुदल आएपछि एमालेका लागि कांग्रेससँग भिडे, जनयुद्धकालमा एमालेका लागि माओवादीसँग भिडे । अहिले बलियो एमालेका लागि तपाईंसँग भिड्न विवश छन् ।

तपाईं भन्नुहुन्छ नि सरकारको आलोचना भयो । राजवादीहरुले सरकारका विरुद्ध अनर्गल प्रचार गरे । हौवा फिँजाए । घेराबन्दी गरे । तपाईंलाई थाहा रहेनछ, यो हौवा राजावादी, कांग्रेस वा माओवादीका कार्यकर्ताले गरेका होइनन् । जो एमाले पार्टीमै लागेर केही गर्छु भनेर अगाडि बढेका छन् । तिनको अहिले फेसबुक आइडी मात्रै एक जनाले तीन वटा खोलेका छन् । सक्कली आइडीबाट ‘वाहा बा’ भन्छन्, नक्कली आइडीबाट ‘छि बा’ भन्छन् । स्वस्थ आलोचनालाई जब तपाईंले गालीको रुपमा बुझ्न थाल्नुभयो, कार्यकर्ताले नयाँ उपाय खोजे र यो प्रवृत्ति बढ्दो छ । यति कुरामा ढुक्क हुनुस्, अब तपाईंको आलोचनाका लागि दोस्रो पार्टीका कार्यकर्ता जरुरी छैन । एउटा आइडीबाट शिखरमा पुर्याछन्, बाँकी दुई वटाले भित्तोमा

‘बा’ तपाईंले जति सक्नुहुन्थ्यो गर्नुभो । अब तपाईंको कारण पार्टी बन्दैन । तपाईंले जता छुनुहुन्छ, त्यतै भत्किन्छ । बरु ‘जराको आधार र पखेटाको यात्रा’ जस्तै अरु धेरै लेख लेख्नुभो भने छोराछोरीहरु पढेर खुसी हुन्छन्, ज्ञान पनि पाउँछन् । नारायण ढकालको ‘प्रेतकल्प’ उपन्यास पढ्नुभएको छ कि छैन । बरु एकपटक पढ्नुभो भने स्तुतिगानमा रमाउने शासकका प्रवृत्तिबारे केही जानकारी पाउनुहुन्छ र त्यसले तपाईं आफैंलाई पनि सुध्रिने प्रेरणा दिनसक्छ ।

तपाईं त जहाँ जसरी बसे पनि पूर्वप्रधानमन्त्री । तपाईंका लागि राज्यले नोकर-चाकर, भान्से, बगैंचे सबथोक उपलब्ध गराउँछ । म एमालेमै लाग्छु भनेर भर्खरै पार्टी सदस्यता लिएका केटाकेटीको भविष्य सम्झेर भए पनि अब आराम गर्नुस् ‘बा’ । अहिले लुलो भएको एमालेलाई धुलो हुनबाट जोगाउनका लागि तपाईंको स्वेच्छिक बहिर्गमनको खाँचो छ । अघिल्ला वर्षमा सूर्य चिन्हमा भोट हाल्दै आएका २० लाख मान्छे एमाले धुलो भएको होइन, ठूलो भएको हेर्न चाहन्छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ