- असार ०६, २०८०
काठमाडौँ, १९ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको समयमा पलेसा गोवर्धनले ऐतिहासिक पदक जितेर नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ बताएका छन् ।
पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गर्दै मेयर शाहले सो कुरा बताएका हुन् ।
सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको उनको भनाई थियो ।
पलेशाका मातापिताको योगदानमा कुरा गर्दै मेयर शाहले खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनु पर्छ भन्ने सन्देश दिएको उल्लेख गरे ।
महानगरपालिकाले बुधबार काठमाडौँ प्लाजामा आयोजना गरेको कार्यक्रममा पलेसालाई पाँच लाख नगदसहित सम्मान गरेको थियो । सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा गरिन् । छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने भन्दै उनले पलेशाका बुबाआमा, सन्तानको सफलताका लागि अभिभावकको भूमिकाका लागि उदाहरण भएको उल्लेख गरिन् । डंगोलले जितमा प्रशिक्षकको भूमिका उल्लेखनीय हुने बताउँदै खेलाडीसँगै प्रशिक्षकहरुलाई प्रोत्साहित गर्नु पर्ने बताइन् ।
पलेशाले खेल अनुभव सुनाउँदै आफुले पाएको पदक देशकै लागि गौरव भएको बताइन् । सम्मान कार्यक्रममा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएसनका अध्यक्ष प्रकाश शम्शेर राणा, ओलम्पियन संगीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदिप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी थिए ।
पलेशाले गएको शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी थिइन् ।
पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गरेकी थिइन् । रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गरेकी थिइन् । पेरिस पारालिम्पिकमा नेपालबाट ३ जना खेलाडीको सहभागिता थियो । कार्यक्रममा सहभागी खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।
टिप्पणीहरू: