आइतबार, २५ जेठ २०८२

काठमाडाैं महानगरपालिकामा ९ कराेडमा २४ फाल्चा बन्ने


काठमाडौं । काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा २४ वटा फाल्चा निर्माण हुने भएको छ । ती मध्ये आठवटा निर्माण भइसकेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।

फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो भएको भन्दै मेयर शाहले तिनलाई विस्थापित हुनबाट जोगाउन निर्माण अभियान सुरु भएको बताए  । ‘यसलाई तस्विर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवद्र्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ ।’ सामाजिक सञ्जालमा उनले भनेका छन् ‘कम्तिमा, हरेक बस स्टपमा यात्रुहरुलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो । अहिले त्यहिअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउदछौ ।’

उनको भनाई अनुसार फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको छ, जहाँ मानिसहरू भेला भएर विचार साटासाट, मेलमिलाप र सामूहिक निर्णय लिने गर्दथे । चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वका तयारीसमेत चलिरहन्थ्यो । 

प्राचिन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका ती ठाउँहरूले काठमाडौंका गल्लीहरूमा थकित शरीरलाई विश्रामको मौका दिइ फूर्तिलो बनाउँथे । बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास र परम्परा सुनाउँदा  पुस्तान्तरण हुँदै मौलिक इतिहास संरक्षणमा ठूलो योगदान पुग्थ्यो । यसैले फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो । 

माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको जानकारी दिँदै मेयर शाहले  आठवटाको निर्माण भइसकेको र ती माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराए । यी सबै फल्चाको कुल लागत करिब रु. ९ करोड रहेको छ ।

‘कंक्रीटाइजेसन’ले छोपेको यो समयमा काठमाडौंको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृष्यका लागि पनि मनोरम बन्ने छ ।’ उनले भनेका छन् ‘सुविधाका लागि हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा छ र बीचको बाटोबाट पैदल आवतजावत सहज हुने गरी ‘डिजाइन’ गरिएको छ । यो अपाङ्गमैत्री पनि छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ