शुक्रबार, २९ चैत २०८१

काठमाडौँ महानगरको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको छ: गगन थापा


काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताएका छन् । 

नित्यनाथ सत्तलको पुनःनिर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा कामपाले गरेको कामको प्रशंसा गरे । उनले भन्नुभयो, “जन सरोकारका काममा यसअघि सङ्घ र प्रदेश सरकारसँग बजेट माग्नु पर्थ्याे, अहिले कामपाले बजेटको अभाव महसुस हुन दिएको छैन। यो राम्रो काम हो ।”

कामपा–८, नवाली टोलमा रहेको १९औँ शताब्दीमा निर्मित  सत्तल पुनःनिर्माणको महामन्त्री थापासहित, वडाध्यक्ष आशामान सङ्गत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरुले एकै पटक  पाँच ठाउँमा जग राखेर शिलान्यास गरेका छन् । सत्तल पुनःनिर्माणका लागि करबाहेक रु दुई करोड २७ लाखमा निर्माण पक्षसँग सम्झौता भएको छ ।

तीन तले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइने महानगरले जनाएको छ । तेस्रो तला अर्थात् बुइँगलमा नित्यनाथको मन्दिरस्थल रहनेछ । परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नुपर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये आज गरिएको पूजालाई विशेष रुपमा मानिन्छ ।

विसं १९९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ